
काठमाडाैं । आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ काे मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको भीड लागेको छ ।
बिहीबार मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन हाे । देशभर आमालाई मिठा-मिठा परिकार खुवाएर आमाको मुख हेर्ने चलन रहेकाे छ । साथै बिहीबार काठमाडौं उपत्यकाको मातार्तीर्थमा ठूलो मेला लागेको छ। आमाको मुख हेर्ने र आमाबाट आशिर्वाद लिने परम्परा अनुसार मातातीर्थ औंसी मनाउने गरिन्छ ।
आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमालाई स्मरण गर्दछन् । मातातीर्थ मेलाको अवसरमा बिहीबार चन्द्रागिरी नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ ।
आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइने गरिन्छ । मातातीर्थमा पुग्नुभएका दर्शनार्थी प्रेमप्रसाद लामिछानेले दर्शन गर्न कठिनाई नभएको बताउनुभयो । उहाँले यस वर्ष सूर्यग्रहण लागेकाले पनि मातातीर्थमा दर्शनका लागि आउनेको संख्या कम रहेको बताउनुभयो ।
आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने र शुभ आशिर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्