
काठमाडौं । सरकारले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गरेको छ ।
उद्योग विभागले बिहीबार पत्रकार सम्मेलन गरी नेपालमा १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी थालेको जानकारी दिएको हो ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारले राजपत्रमा सूचना प्रकाशित गरी विदेशी लगानी प्रक्रिया सरल र सहज बनाउन लागेको बताउनुभयो । उहाँले अब प्रचलित कानुन बमोजिम कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृतका सेवा स्वचालित बनाउने व्यवस्था गरेको बताउनुभयो ।
महानिर्देशक तिवारीले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भए बमोजिम अब १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न सुरु गरिएको बताउनुभयो । लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृति लिइरहनु नपर्ने भन्दै उहाँले उक्त प्रणाली लागू भएसँगै नेपालमा लगानीका लागि प्रशासनिक सुधारको चरणमा रहेको सन्देश जाने विभागले विश्वास लिएको बताउनुभयो ।
भारत, बंगलादेश लगायतका मुलुकमा भएका अभ्यासले यो प्रणाली लगानीकर्तामैत्री प्रमाणित भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्