१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा २६ घर-गोठ जलेर नष्ट


0
Shares

काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा २६ घर गोठ जलेर नष्ट भएका छन् ।

गाउँपालिको वडा नं ५ सिसवामा बिहीबार बिहान ११ बजेदेखि सुरु भएको आगो तीन घण्टापछि नियन्त्रणमा आएको वडाध्यक्ष अनवर मुसलमानले बताउनुभयो ।

फुसका ९ वटा घर पूर्ण, १७ वटा आंशिक गरी २६ वटा घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

आगोले खाद्यान्न, लत्ताकपडा, कागजपत्रलगायतको सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो । आगलागीमा परी एउटा पाडो जलेर मरेको बताइएको छ । मानवीय क्षति नभएको प्रहरी निरीक्षक रानाले बताउनुभयो ।

स्थानीय कुसुम पासीको घरबाट सुरु भएको आगोले गाउँमा भएका फुसका घरगोठ जलेका हुन् । आगलागीका कारण रु. एक करोडभन्दा बढीको क्षति भएको वडाध्यक्ष मुसलमानले बताउनुभयो । आगलागीका कारण अहिले खुल्न सकेको छैन ।

शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, प्रहरी सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा तीन घण्टापछि आगो नियन्त्रण आएको हो । आगलागीस्थलमा लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकी यादव पुग्नुभएको हो ।

अग्निपीडितका लागि राहत व्यवस्थापन गर्ने यादवले जनाउनुभयो । गाउँपालिकाका अध्यक्ष गोपाल थापाले पालिकाले पीडितहरूलाई राहतको व्यवस्थापन गर्ने बताउनुभयो ।