
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जग्गाको नक्सा आफूखुशी जोडेको र नक्सामा नभएको क्षेत्रफललाई कानूनविपरीत कित्ताकाट गरेको भन्दै नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जनसहित ८ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गा दाश महर्जन, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादवले मूलपानी १ख कित्ता नं. ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी नक्सा सच्याएको आरोप लगाएको छ ।
यो कार्यमा मालपोत चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले र नायव सुब्बा उत्तम कुँवर तथा झापाको कमल गाउँपालिका–२ का योगेन्द्र आचार्य, काठमाडौं कागेश्वरी मनोहरा–९ का सिताराम अधिकारी र काठमाडौं महानगरपालिका –९ का नविन दाहालको पनि संलग्नता रहेको अख्तियारको दाबी छ ।
आचार्य, अधिकारी र दाहालले टायल चेकबाट क्षेत्रफल बढ कायम गरी नक्सा तयार गर्ने कार्यमा नापी कार्यालय, चावहिलका कर्मचारीलाई परिवर्तित नक्साबमोजिमको क्षेत्रफल कायम गरी गलत लिखत पारित गर्न मतियारको रुपमा सहयोग पुर्याएको अख्तियारको आरोप छ ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मुख्य कसुरदारलाई हुने सजायसरह सजाय हुन मागदावी लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्