२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘सरकारले साना तथा मझौला उद्योगको संरक्षण गर्ने नीति ल्याउनुपर्छ’


39
Shares

काठमाडौं । निजी क्षेत्रले साना तथा मझौला उद्योगहरुको संरक्षण गर्दै उद्योगी व्यवसायीहरुको आत्मविश्वास बढाउने नीति ल्याउन सरकारसँग माग गरेको छ ।

शुक्रबार काठमाडौं भएको केटिम भ्वाइसको वार्षिक उत्साव कार्यक्रममा बोल्दै निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षहरुले यस्तो माग गरेका हुन् ।

उनीहरुले सरकारले लिएका नीतिहरुको कारण वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरुले समस्या भोग्नुपरेको आरोप लगाएका छन् । व्यवसायीहरुले पछिल्लो समय उद्योगी व्यवसायीहरुको मनोवल कमजोर भएको भन्दै सरकारले व्यवसायीहरुको आत्मविश्वास बनाउने नीति ल्याउनुपर्ने बताए ।

मुलुकको अर्थतन्त्रमा आएका समस्या तत्काल समाधान गरी साना तथा मझौला उद्योगलाई संरक्षण गर्न नीति ल्याउन आवश्यक रहेको बताए । उनीहरुले बैंकको ब्याजदर एकल अंकमा ल्याएर भाका पुगेर पनि व्यवसायीहरुले तिर्न नसकेको कर्जाको म्यादलाई एक वर्षको लागि पुनःतालिकिकरण गर्न माग गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले पछिल्लो समय उद्योगी व्यवसायीहरुले बैंकबाट ठूलो ऋण लिन सक्ने र ऋण लिएपनि तिर्नसक्ने अवस्था नभएको भन्दै साना तथा मझौला उद्योगहरुलाई संरक्षण गर्ने सरकारले नीति ल्याउनुपर्ने बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्र आयातमुखी रहेकाले नेपालको निर्यात संकुचन हुँदै गएको उल्लेख गर्नुभयो । उहाँले मुलुकको राजश्व पनि आयातमा निर्भर भएको भन्दै उद्योगहरुलाई उत्पादन मुलक बनाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले अर्थतन्त्रका सूचकहरु सकारात्मक हुँदै गएको भन्दै तत्कालका लागि अर्थतन्त्रमा ठूलो समस्या नभएको बताउनुभयो । उहाँले सरकारले अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न तत्काल गर्न काम गर्न नसक्दा अर्थतन्त्र सिथिल अवस्थामा रहेको बताउनुभयो । उहाँले व्यवसायीहरुले कर्जा तिर्नका लागि बैंकलाई प्राथमिकतामा राखेर गर्नुपरेको भन्दै सरकारले तत्काल एक वर्षको लागि पुुनःतालिकिकरण गर्नुपर्ने माग गर्नुभयो ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक संकटले घरासाही हुने अवस्थामा पुर्‍याएका उद्योगी व्यवसायीहरुलाई सरकारले आत्मविश्वास बढाउने नीति ल्याउन आवश्यकता रहेको बताउनुभयो । उहाँले सरकारले बैंकको ब्याजदर एकल अंकमा नल्याएसम्म अर्थतन्त्र तत्काल सुधार नहुने बताउनुभयो ।

उपाध्यक्ष अग्रवालले चालुपुँजी कर्जा नीतिको कारण उद्योगी व्यवसायीहरुलाई वित्तीय पहँुचमा समस्या भएको भन्दै वित्तीय पहुँच सहज नभएसम्म निजी क्षेत्रको लगानी आकर्षित हुन नसक्ने बताउनुभयो । उहाँले विगतमा सरकारले बनाएको नीतिका कारण अहिले उद्योगी व्यवसायीहरुले समस्या भोग्नुपरेको आरोप लगाउनुभयो । उहाँले सरकारले आयात भन्दा पनि निर्यात प्रवद्र्धनमा जोड दिएर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने माग गर्नुभयो ।

उपाध्यक्ष अग्रवालले निजी क्षेत्रमैत्री राजश्वका नीतिहरु आउन माग गर्नुभयो । उहाँले असार मसान्त र पुस मसान्तसम्म उद्योगी व्यवसायीहरुले तिर्न नसकेको कर्जाको पुनःतालिकिकरण गर्नुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्र हतोत्साहित भएको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रद्वारा प्रवद्र्धित पब्लिक कम्पनीहरु बैंक, बीमा, मेडिकल सबैमा हस्तक्षेप गर्न गलत भएको बताउनुभयो ।

उहाँले अख्तियारलाई कुनै पनि हालतमा निजी क्षेत्रमा प्रवेश गर्न दिन नहुने भन्दै निजी क्षेत्रमा अख्तियार प्रवेश गरे देशले आर्थिक समृद्धि पूरा गर्न नसक्ने बताउनुभयो । उहाँले निजी क्षेत्रमा अख्तियार प्रवेश गरे निजी क्षेत्रको पुँजी पलायन हुने अवस्था आउने बताउनुभयो ।