१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


व्यक्तिगत घटना दर्ता सम्बन्धी यस्तो छ कानूनी व्यवस्था


312
Shares

समाज गतिशील छ, गतिशील समाजमा अनेक प्रकारका घटना परिघटनाहरु दैनिक रुपमा घटिरहेको पाइन्छ । जसमध्ये समाजमा घट्ने केही विशेष घटनाहरुलाई महत्वका साथ हेरिएको पाइन्छ ।

त्यस्ता विशेष खालका, कानूनले निर्दिष्ट गरेका घटनाहरुलाई व्यबस्थित गर्नको लागि अनिवार्य रुपमा त्यस्ता घटनाहरुलाई सम्बन्धित कार्यालयमा दर्ता गर्नुपर्ने हुन्छ ।

प्रत्येक व्यक्तिको सामाजिक र कानूनी हैसीयतको लागि अर्थात पहिचानको लागि राज्यबाट प्रवाह हुने विविध सेवा प्राप्तिका लागि जन्म, मृत्यु, विवाह, बसाई, सराई र सम्बन्ध विच्छेद जस्ता मानवीय जीवनमा आइपर्ने विभिन्न खालका व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र सम्बन्धित नगरपालिकाको वडा कार्यालयमा दर्ता गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्था छ ।

नेपालमा बसोबास गर्ने व्यक्तिहरुको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाई सराई जस्ता घटना दर्ता गरी प्रमाणपत्र वितरण गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न बाञ्छनीय भएकोले भन्दै वि.सं.२०३३ सालमा जन्म, मृत्यु, तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन २०३३ जारी गरिएको हो । व्यक्तिगत घटना दर्ताका सम्बन्धमा आएको यो ऐन पटक पटक संशोधन हुँदै आएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी भएपछि, बि.सं २०७५ सालमा यस ऐनमा व्यापक संशोधन गरियो जुन वर्तमानमा क्रियाशील छ ।

यस ऐनबमोजिम “व्यक्तिगत घटना” भन्नाले कुनै व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाई सराई सम्झनु पर्छ । बसाई सराई भन्नाले ६ महिना भन्दा बढी अवधिको लागि नेपाल भित्र एक गाउँपालिका वा नगरपालिका क्षेत्रबाट अर्को गाउँपालिका वा नगरपालिका क्षेत्रमा बसाई सरी जाने वा विदेशबाट बसाई सरी आउने कार्यलाई सम्झनु पर्छ, भनिएको छ ।

कसरी र कहाँ दिने त व्यक्तिगत घटनाको सूचना ?

व्यक्तिगत घटना दर्ता गराउनको लागि त्यस्तो घटना घटेको ३५ दिन भित्र तोकिएको फाराम भरी स्थानीय पञ्जीकाधिकारीको कार्यालयमा ( जुन वडा कार्यालयमै रहेको हुन्छ ) सूचना गर्नु पर्नेछ । जन्म तथा मृत्युको सूचना बाबु आमा वा परिवारको कुनै सदस्य वा संरक्षकले गर्न सक्नेछ । विवाहको सूचना पति पत्नी दुवैले, सम्बन्ध विच्छेदको सूचना पति वा पत्नीले, बसाइँ सराईको सूचना बसाइँ सर्ने परिवार भए परिवारको मुख्य व्यक्तिले र परिवार नभए बसाइँ सराई गर्ने व्यक्तिले दिनुपर्ने हुन्छ ।

दर्ता गर्नुपर्ने त्यस्ता खालका घटना नेपाल बाहिर वा विदेशमा घटेको भए त्यस्तो घटनाको सूचना दिनुपर्ने व्यक्ति नेपालमा आएपछि उसले ६० दिन भित्र सूचना दिनुपर्ने हुन्छ । यदि जन्म तथा मृत्युको सूचना दिनुपर्ने कर्तव्य भएको व्यक्ति नभएको अवस्थामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेकोे व्यक्तिले त्यस्तो सूचना दिनुपर्छ । यसरी विधि र प्रकृया पुर्‍याएर व्यक्तिगत घटनाको सूचना दर्ता गर्नासाथ स्थानीय पञ्जीकाधिकारीले तोकिएको व्यक्तिलाई निःशुल्क प्रमाण पत्र दिनेछ ।

यस्तो प्रमाणपत्र व्यक्तिको सामाजिक हक अधिकार अनि दायित्वसँग जोडिएको हुन्छ । त्यसरी प्राप्त भएको दर्ताको प्रमाणपत्र, व्यक्तिगत घटना भएको छ भन्ने कुराको प्रमाण हुनेछ र त्यस्तो प्रमाण कुनै पनि कार्यालय र अड्डा अदालतमा पेश गर्न तथा वैयक्तिक कारोवारमा प्रयोग गर्न सकिन्छ । यदि कसैले झुठा विवरण पेश गरेर त्यस्तो प्रमाणपत्र लिएको रहेछ भने त्यस्तो दर्ताको प्रमाणपत्र रद्द हुने कानूनी व्यबस्था रहेको छ ।

यसरी समाजमा घट्ने विविध खालका घटनाहरुलाई सुव्यवस्थित गर्नको लागि उक्त ऐनको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । सबैले कानूनले तोकेको, व्यक्तिगत घटना अनिवार्य रुपमा दर्ता गर्नुपर्ने हुन्छ । समयमै दर्ता गर्न नसकिएको खण्डमा अनेक प्रकारका समस्याहरु आईलाग्न सक्छन् । तसर्थ सबैले यस कुरालाई गम्भीर रुपमा लिनु आवश्यक छ ।

(लेखक अधिवक्ता हुन्)