
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई भेटी निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे अवगत गराएको छ ।
महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री बस्नेत समक्ष निर्माण उद्योगको समस्या समाधान गरिदिन आग्रह पनि गरेको छ । सो अवसरमा महासंघका अध्यक्ष सिंहले व्यवसायीहरूले राज्यबाट पाउनु पर्ने अर्बौं रुपैया भुक्तान भएमा अर्थतन्त्र चलायमान भई राज्यलाई नै फाइदा पुग्ने बताउनुभयो ।
भुक्तानी अभाव, नदी तथा खानीजन्य सामग्रीको उत्खननमा भएको अवरोध, निर्वाचन लगायतका कारणले समयमै निर्माण कार्य हुन नसकेको भन्दै अध्यक्ष सिंहले सबै आयोजनाहरूको म्याद २०८१ असार मसान्तसम्म थप गरिनु पर्ने बताउनुभयो । उहाँले मूल्य समायोजन सहित सार्वजनिक खरिद ऐन अनुसार २० प्रतिशत मोबिलाइजेशन पेश्की पाउनु पर्ने माग पनि मन्त्री बस्नेत समक्ष राख्नुभयो ।
महासंघका मुख्य मागहरूलाई सार्वजनिक खरिद नियमावलीको तेर्हौं संशोधन मार्फत् सम्बोधन गरिदिन अध्यक्ष सिंहले मन्त्री बस्नेतसँग आग्रह गर्नुभयो । जवाफमा मन्त्री बस्नेतले महासंघले उठान गरेका विषयहरू समय सान्दर्भिक रहेको भन्दै निर्माण व्यवसायीहरूका समस्या क्रमशः समाधान हुँदै जाने प्रतिबद्धता पनि जनाउनुभएको महासंघले जनाएको छ ।
महासंघ प्रतिनिधिमण्डलमा महासंघका महासचिव रोशन दाहाल र कार्यालय प्रमुख प्रेमसिंह ऐर लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्