१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाइजो नल्याएको भन्दै श्रीमतीको हत्याको प्रयास


481
Shares

काठमाडौं । दाइजो नदिएको भन्दै धनुषामा श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना बाहिरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाको शरीरमा उनका श्रीमान राजिव झासहित परिवारका अन्य सदस्य मिलेर आगो लगाएर हत्या गर्ने प्रयास भएको घटना बाहिरिएको हो ।

जनकपुरको प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी श्वेताले श्रीमान राजिवले परिवारका अन्य सदस्यको सहयोगमा आफ्नो शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लगाउनुभयो । श्वेताले आफूलाई श्रीमान राजिव, ससुरा शिवशंकर झा, सासु र देवर लगायतकाले कुटपिट गर्दै शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको बताउनुभयो ।

गत बैशाख १ गते राजिवले ९ वर्षीय छोरालाई कुटपिट गरिरहँदा छोरालाई बचाउने क्रममा उनले श्वेतालाई पनि कुटपिट गर्दै आफ्नो भाइ, बुबा र आमाको सहयोगमा उनको शरीरमा आगो लगाइदिएको श्वेताको आरोप छ । राजिवको परिवारले आफूलाई मरणासन्न हुनेगरी कुटपिट गरेर शरीरमा आगो लगाएपनि यतिका दिनसम्म उपचारका लागि अस्पताल समेत ल्याएका थिएनन् ।

घटनाबारे थाहा पाएपछि भारत विहारको दरभंगास्थित पोठिया माइती रहेकी श्वेताका बुबा जयकुमार झा, भाइलगायतका आफन्तले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका छन् । श्वेताको घाँटीभन्दा तलको ३५ प्रतिशत भाग जलेको छ ।

घाइते अवस्थामा रहेकी स्वेताले श्रीमान राजिव र ससुरा पक्षले विवाहको बेला ३ तोला सुन मागेको बताउनुभयो । त्यतिबेला बुबाले २ लाख भारतीय रुपैयाँ दिएपनि अहिलेसम्म ३ तोला सुन नदिएको भन्दै पटक पटक आफूलाई प्रताडित गर्दै आएको आरोप लगाउनुभएको छ ।