७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


चेन्नईले हैदराबादलाई हरायो


429
Shares

काठमाडौं । भारतमा जारी रहेको ईन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई हराएको छ ।

शुक्रबार चेन्नईले घरेलु मैदान एम ए चितम्बरम स्टेडियममा हैदराबादलाई ७ विकेटले हराएको हो ।

जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

चेन्नईका लागि डेभन कन्वेले अविजित ७७ रनको अर्धशतकीय ईनिङ खेले । यस्तै, ऋतुराज गायकवाडले ३५, अजिंक्या रहाणे र अम्बाती रायुडूले समान ९/९ तथा मोईन अलीले अविजित ६ रन बनाए ।

हैदराबादका लागि मंयक मारकन्डेले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनायो ।

हैदराबादका लागि अभिषेक शर्माले सर्वाधिक ३४ रन बनाए । यस्तै, मार्को यानसनले अविजित २७, राहुल त्रिपाटीले २१, हेनरिक केल्सनले १७ तथा कप्तान एडेन माक्ररमले १२ रन बनाए ।

चेन्नईका लागि रविन्द्र जडेजाले ३ तथा मथिशा पथिराना, महेश थिक्सना र आकाश सिंहले समान १/१ विकेट लिए ।

चेन्नाई ८ अंक सहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । हैदराबाद अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ ।