
काठमाडौं । मानिसलाई सधैं चाहिने तर परिभाषित गर्न गाह्रो शब्द हो घर । जंगली युगबाट समाजमा घर बनाएर बस्नुअघि मानिसहरु कहाँ बस्थे होलान् ? बस्ने ठाउँ कस्ता हुन्थे होलान् ? जाडो महिनामा गुफामा बसे पनि गर्मीमा के गर्थे होलान् ? गुफा नभएको ठाउँमा कता बस्थे होलान् ? यी सबै कुराको बारेमा समाजशास्त्रीहरुको फरक–फरक मत छ । तर पनि मानिस कहिलेदेखि समाजमा बस्न थाल्यो अझै पनि खोजको बिषय बनेको छ ।
घाम, पानी, हावा–हुरी जंगली जनावर, शत्रुबाट बच्न वा अन्य जे कारणले भएपनि मानिसले घर बनाउन थालेको धेरै भयो ।
नेपालमा वाह्य पर्यटक प्राकृतिक सम्पदा विभिन्न जातिहरुको संस्कृति र मौलिक घर एवं बस्तीहरु हेर्न आउँछन् । मौलिक घर नेपाली समाजको सभ्यताको पहिचान मानिन्छ ।
विविध जाति, धर्म तथा भौगोलिक बनावट भएको मौलिकताले पर्यटकहरुलाई आकर्षण गराएको छ । पर्यटकहरुलाई आधुनिक भन्दा स्थानीय ढुंगामाटो तथा काठ प्रयोग गरी बनाइएको पुराना शैलीको मौलिक घर भएका गाउँमा अवलोकन गर्न रुचाउँछन् ।
शहरदेखि गाउँसम्म पछिल्लो समय काठका छाना, खरका छाना, ढुंगाका छाना, टिनका छाना हुँदै अहिले आएर सिमेन्ट कंक्रिट ढलानका छाना भएका घरहरु प्रशस्त छन् । साथै आफ्नो रुची, हैसियत अनुसार उपत्यकामै पनि घरहरुका आकार, रङ, शैली फरक फरक छन् । तर पनि घर सबैलाई आफ्नो आश्रयका लागि चाहिन्छ नै ।
नेपालमा भित्रिने वाह्य पर्यटकहरु मौलिक संस्कृति, भेषभूषा रहन सहन र भाषा समेत अध्ययन गर्न रुचाउँछन् । मौलिकता र सुन्दरताका हिसाबले काठमाडौं, भक्तपुर र ललितपुरका पुराना घरहरु ५० वर्ष पहिलासम्म विश्वका उत्कृष्ट पचास शहरमध्ये १० औं नम्बरमा थियो । तर, अहिले आधुनिक कंक्रिटको घर हुनुलाई समाजले प्रतिष्ठाको विषय मानेको छ । जसकारण सबैले मौलिक घरलाई छोड्दै कंक्रिटको घर बनाउन थालेका छन् भने काठमाडौं उपत्यका कंक्रिटको शहरको रुपमा परिचित छ ।
उपत्यकाका केही भित्रि बस्ती बाहेकका क्षेत्रमा मौलिक पहिचान झल्किने घर भेट्न मुस्किलप्रायः छ । मौलिक पुराना घर जोगाएर पर्यटनको विकास गर्न राजनीतिक नेतृत्व नै अन्योलमा छन् । पर्यटनको विकासको लागि मौलिक घर निर्माण र पुरानो सीपको प्रयोग गरेर नेपालको सौन्दर्यलाई पुनःउजागर गर्न सबै एक हुन जरुरी छ ।
अहिले विभिन्न शैलीका मौलिक एवं परम्परागत घरहरु लोप हुने अवस्थामा पुगेका छन् । पुराना मौलिक घर भत्काएर नयाँ आधुनिक किसिमका कंक्रिटका घरहरु शहर बजारदेखि गाउँसम्म बन्न थालेका छन् । अर्कोतर्फ ढुङ्गा, टायल, खरले छाएका नेपाली परम्परागत र मौलिक घर भत्काएर आधुनिक कंक्रिट पिल्लरको घर बन्न थालेका छन् ।
यद्यपी काँठ क्षेत्रमा भने अझैपनि पुराना कलात्मक शैलीको प्रयोग गरी बनाइएका घरहरु भने कतै भेटिने गर्छन् ।











प्रतिक्रिया दिनुहोस्