
काठमाडाैं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको विद्यमान अवस्थालाई बदल्न राजनीतिक ध्रुवीकरण जरूरी रहेको बताउनुभएको छ ।
महासचिव पोखरेलले न्युज एजेन्सी नेपालका संचारकर्मीसँग कुरा गर्दै देशको विद्यमान परिस्थितिको समाधान गर्न राजनीतिक ध्रुवीकरण जरुरी रहेको बताउनुभएको हो । उहाँले नेपाली जनमत विभाजित हुँदा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसकेको स्पष्ट पार्नुभयो । उहाँले जति धेरै राजनीतिक दलहरु हुन्छन् उति नै नीतिगत सम्झौता, नीतिगत विचलन र सत्ताको सौदाबाजी हुने बताउनुभयो । त्यस्तै वैदेशिक चलखेल र हस्तक्षेप पनि धेरै दलहरु हुँदा बढ्ने उहाँको भनाइ छ ।
उहाँले सत्ता केन्द्रित भएर अघि बढ्न खोज्दा जनमतलाई ध्रुवीकरण गर्न सम्भव नभएको स्पष्ट पार्नुभयो । जनमत ध्रुवीकृत नभइ बलियो राष्ट्रिय शक्तिहरुको निर्माण गर्न सम्भव नरहेको दावी गर्नुभयो । संसद हङ संसदका रुपमा रहनु र प्रधानमन्त्री, मन्त्रीहरु परिवर्तन भइरहेका कारण मुलुक बन्न नसकेको उहाँले बताउनुभयो । उहाँले देशलाई बनाउनका लागि नीतिका आधारमा वैचारिक ध्रुवीकरण र राजनीतिक ध्रुवीकरण जरुरी रहेको बताउनुभयो ।
महासचिव पोखरेलले देशको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभयो । उहाँले बलियो राष्ट्रिय शक्तिको निर्माणबाट मात्रै राजनीतिक स्थायित्व प्राप्त गर्न सकिने बताउनुभयो । उहाँले विगतको निर्वाचनको परिणामले देशलाई राजनीतिक स्थायित्वतर्फ अगाडी बढाउन नसक्ने बताउनुभयो ।
महासचिव पोखरेलले नागरिकहरुको बलियो राजनीतिक शक्ति बनाउने कर्तव्य भएपनि सो कर्तव्यबाट नागरिकहरु चुक्दै गइरहेको उल्लेख गर्नुभयो । उहाँले संसदको शक्ति सन्तुलनका कारण देशको दिगो विकासको सपनालाइ सार्थक बनाउन नसकिने बताउनु भयो । अहिलेको परिस्थिति अनुसार कुनैपनि पार्टी सरकारमा गएपनि जनताको चाहनालाई पूरा गर्न कठिन रहेको बताउनु भयो ।
महासचिव पोखरेलले एशियाको शक्तिलाई कमजोर बनाउन पश्चिमाहरुले एशियाभित्र कलह सिर्जना गर्ने प्रयास गरिरहेका बताउनु भयो । उहाँले एशियालाई विश्व शक्तिकेन्द्रको रुपमा विकसित हुन नदिन नेपाललाई अस्थिरताको भूमिको रुपमा प्रयोग गर्ने प्रयास भइरहेको बताउनु भयो । एमसीसी र एसपीपी सम्झौता त्यसैको उदाहरणको रुपमा रहेको उहाँले उल्लेख गर्नुभयो । नेपालमा बढ्दो अन्तर्राष्ट्रिय गतिविधिहरुले यहाँको राजनीतिलाई अस्थिर बनाउने प्रयास गरिरहेको उहाँले बताउनु भयो ।
महासचिव पोखरेलले एमाले झापा विद्रोहको जगमा पुनर्गठित भएको कम्युनिष्ट आन्दोलनको मुल धारा भएको बताउनु भयो । उहाँले नेकपा मालेका तत्कालिन महासचिव मदन भण्डारीको नेतृत्व र अग्रसरमा २०४७ सालको संयुक्त जनआन्दोलन भएको जिकीर गर्नुभयो ।
महासचिव पोखरेलले नेपाली कांग्रेसको संकोचपूर्ण व्यवहारका कारण २०४७ सालमा जनअपेक्षा अनुसारको लोकतान्त्रिक संविधान बन्न नसकेको बताउनुभयो । उहाँले देशमा ०५२ सालदेखि सुरु भएको १० वर्षे सशस्त्र विद्रोहको कारण देशको विकासको प्रक्रिया दशकौं पछाडि धकेलिएको धारणा राख्नुभयो ।
उहाँले तत्कालिन नेकपा माओवादीको विद्रोहलाई प्रयोग गर्दै राजाले आफूलाई क्रियाशिल बनाएका र बाह्य शक्तिहरुले समेत आफ्नो प्रभाव विस्तार गर्न पुगेका बताउनुभयो । उहाँले राजनीतिक दलहरुकाबीचमा भएको १२ बुँदे समझदारीले १९ दिने जनआन्दोलन सफल भएको बताउनुभयो । उहाँले आजको देशको राजनीतिक परिवर्तन संयुक्त जन-आन्दोलनको नीतिलाई कार्यान्वयन गर्नका परिणाम भएको बताउनुभयो ।
एमाले महासचिव पोखरेलले देशमा राजनीतिक स्थायित्व हुन नसक्दा विकास र समृद्धिमा पछि पारिएको धारणा राख्नुभयो । राजनीतिक दलहरुले देशमा राजनीतिक अस्थिरता मुख्य चुनौतीको रुपमा रहेको कुरालाई आत्मसात गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले एमालेले विभिन्न समयमा सरकारको नेतृत्व गर्न पाएपनि एकल बहुमतको सरकारको नेतृत्व गर्ने मौका पाउन नसकेको बताउनुभयो ।
एमाले नेतृत्वको सरकारहरुले धेरै जनपक्षीय काम गरेको उहाँको भनाइ थियाे ।
प्रतिक्रिया दिनुहोस्