
काठमाडाैं । नेपालको कुल जनसंख्या मध्ये नगरपालिकामा बस्ने जनसंख्या सबै भन्दा बढी रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर विभागले यस्ताे जानकारी गराएकाे हाे । साेही सम्मेलनमा बोल्दै विभागका निर्देशक ढुण्डिराज लामिछानेले नगरपालिकामा बस्नेहरुको कुल जनसंख्या १ करोड ९२ लाख ९६ हजार ७ सय ८८ (६६.२) प्रतिशत रहेको बताउनुभयो । त्यस्तै गाउँमा बस्नेको संख्या ९८ लाख ६७ हजार ७ सय ९० (३३.८ प्रतिशत) रहेको उहाँले बताउनुभयो ।
२०६८सालकोजनगणनाअनुसार नगरपालिकामा बस्नेको संख्या १७.१ प्रतिशत थियो भने गाउँपालिकाहरुमा बस्नेको संख्या ८२.९ प्रतिशत रहेको थियो । नेपालको लैङ्गिक अनुपात प्रति १ सय महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ भने नगरपालिकाको ९६.०६ र गाउँपालिकाको ९४.६८ रहेको छ । कुल जनसंख्या मध्ये अन्य लिङ्गीको जनसंख्या २ हजार ९ सय २८ रहेका छन् भने उक्त संख्या नगरपालिकामा २ हजार १ सय १८ र गाउँपालिकामा ८ सय १० जना रहेको निर्देशक लामिछानेले बताउनुभयो ।
२०६८ सालपछिको १० वर्षमा नेपालको वार्षिक औषत जनसंख्या वृद्धिद्धर ०.९२ प्रतिशत प्रतिवर्ष रहेको छ । नेपालमा कुल परिवार मध्ये पुरुष परिवारमुली रहेको परिवार ६८.५ प्रतिशत र महिला परिवारमुली रहेको संख्या ३१.५ प्रतिशत रहेको छ । नेपालमा जम्मा १५ लाख ५५ हजार ९ सय ६१ परिवारबाट २१ लाख ९० हजार ५ सय ९२ जना परिवारमा अनुपस्थित रहेर विदेशमा बसोबास गर्ने पाइएको छ ।
नेपालमा १० वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्तिहरु अविवाहित रहेका छन् । देशको कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । जनगणनाअनुसार जन्मस्थान र हालको बोसबास एउटै गाउँपालिका वा नगरपालिकामा भएका व्यक्तिहरु ६९.० प्रतिशत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्