१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


निजी स्टक एक्सचेन्जका लागि तीन वटा संस्थाको आवेदन


338
Shares

काठमाडौं । निजी स्टक एक्सचेन्जका लागि तीन वटा संस्थाको आवेदन परेको छ ।

हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि आवेदन दिएका हुन् ।

बोर्डमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको थियो । बोर्डले चैत ३१ गते १० दिनको अवधि दिँदै यस्तो आवेदन माग गरेको हो । यी तीनमध्ये हाललाई एउटाले स्टक एक्सचेन्जको अनुमति प्राप्त गर्ने छ ।

धितोपत्र बजार सञ्चालन नियमावली २०७९ ले प्राइभेट कम्पनी वा संगठित संस्थाले मात्रै धितोपत्र बजार (स्टक एक्सचेन्ज) को शेयर लिन सक्ने व्यवस्था गरेको छ । आवेदकहरूले संस्था दर्ता गरेर आवेदन दर्ता गरेका हुन् । पाँच महिनाअघि गैरकानुनी रुपमा स्टकको लाइसेन्स बाड्न लागिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले स्टक एक्सचेन्ज खोल्ने बाटो खुला गरिदिएसँगै प्रक्रिया अगाडि बढेको हो । नयाँ स्टक स्थापनाको लागि तीन अर्ब रुपैयाँ चुक्ता पुँजी तोकिएको छ । यसमध्ये संस्थागत लगानीकर्ताले ७० प्रतिशत लगानी गर्न सक्नेछन् ।

स्टक एक्सचेन्ज सञ्चालनमा आएको दुई वर्षभित्र आफ्नो जारी पुँजीको कम्तिमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने हुन्छ । हाल सरकारको मुख्य लगानीमा रहेको नेपाल स्टक एक्सचेञ्ज सञ्चालनमा छ ।

त्यस्तै, कमोडिटी एक्सचेन्ज सञ्चालनको लागि मल्टी डेरिभेटिभ्स एक्सचेन्ज, मल्टी एसेस्ट्स एण्ड डेरिभेटिभ एक्सचेन्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ्स एक्सचेन्ज र नेपाल मल्टी कमोडिटी एक्सचेन्जको आवेदन परेको छ । यी मध्ये दुई वटाले मात्र अनुमति प्राप्त गर्ने छन् ।