
काठमाडौं । प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमालेसहितका नेताहरुले बाढी, पहिरो र डुबान व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित विपद व्यवस्थापनसम्बन्धि कार्यक्रममा बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरी, नेपाली कांग्रेसका नेता मिन विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा. गंगालाल तुलाधरले वर्षा सुरु हुनै लागेकाले सरकारले बाढी, पहिरो र डुबानबाट हुने क्षति न्यूनिकरणका लागि आवश्यक व्यवस्था मिलाउन ढिलाई गर्न नहुने बताउनुभयो ।
एमालेका प्रमुख सचेत गिरीले बाढी, पहिरो र डुबानबाट हुने क्षति न्यूनिकरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकार र सम्बन्धित सबै निकायले ध्यान दिनुपर्ने बताउनुभयो । अबको एक, डेढ महिनापछि बाढी, पहिरो र डुबानको समस्या आउने भएकाले त्यसलाई न्यूनिकरण गर्न सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै कांग्रेसका नेता मिन विश्वकर्माले विपद् व्यवस्थापनका लागि फेरी रेस्क्यू गर्ने, पुनर्वासको व्यवस्था गर्नेलगायतका समय आएको उल्लेख गर्दै त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विपद् व्यवस्थापनको पूर्वतयारीका लागि साधन, स्रोतको नीतिसहितको तयारी गर्न पनि सरकारसँग आग्रह गर्नुभयो ।
ठूलो राजनीतिक दलहरुले पनि विपद् व्यवस्थापनका लागि अनिवार्य रुपमा छुट्टै विभागको व्यवस्था गर्नुपर्नेमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तुलाधरले जोड दिनुभयो । उहाँले राजनीतिक दलसम्बन्धि ऐनमा सो व्यवस्था रहेकाले ठूला राजनीतिक दलहरुले विभाग बनाई विपद न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो ।
उपमहासचिव तुलाधरले विपद् जोखिम न्यूनिकरणका लागि आवश्यक सूचना प्रविधिको व्यवस्था मिलाउन पनि सरकारलाई दवाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्