१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मंसिर ४ गते भएको निर्वाचनको खर्च विवरण सार्वजनिक गर्न उम्मेदवारलाई आयोगको आग्रह


65
Shares

काठमाडौं । निर्वाचन आयोगले गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारहरुलाई निर्वाचन खर्च विवरण सार्वजनिक गर्न पुनः स्मरण गराएको छ ।

आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिई निर्वाचन खर्चको विवरण पेस गर्ने ५ हजार ५६१ जना उम्मेदवारलाई आफूले गरेको निर्वाचन खर्च सार्वजनिक गर्न आग्रह गरेको हो ।

खर्च विवरण सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाउँपालिका वा नगरपालिका वा वडा कार्यालयको सूचना पाटी, राजनीतिक दलको जुनसुकै तहको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जालबाट सार्वजनिक गर्न सक्ने र यसरी सार्वजनिक गरेको प्रमाणसहितको जानकारी सम्बन्धित उम्मेदवारहरूले आ–आफ्नो प्रदेश/जिल्ला निर्वाचन कार्यालयलाई दिनुपर्ने आयोगले जनाएको छ ।

निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा दिनुपर्ने प्रावधान छ । सो अवधिमा २ हजार ३७३ प्रतिनिधि सभा सदस्य उम्मेदवार र ३ हजार १८८ प्रदेश सभा उम्मेदवार गरी जम्मा ५ हजार ५६१ उम्मेदवारले विवरण पेश गरेका थिए ।

आयोगले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण ७ दिनभित्र सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी आफू उम्मेदवार भएको जिल्लाको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न यही वैशाख ६ गते निर्णय गरेको थियो ।