१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गोविन्द भट्टराईले दिए स्वर्णिम वाग्लेलाई बधाई, भने- ‘मेरो रचनात्मक सहयोग रहनेछ’


754
Shares

काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिनु भएको छ ।

प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएकोमा वाग्लेलाई भट्टराईले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत बधाई दिनु भएको हो ।

‘प्रिय स्वर्णिमजी, सर्वप्रथम तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई। चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिस्पर्धा रह्यो, र, संयोगले तपाईं निर्वाचित हुनुभयो । मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाइँले सक्नुभयो । तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ,’ भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभयो ।

भट्टराईले यहाँको विकासमा आफ्नो रचनात्मक सहयोग र खबरदारीपूर्ण साथ रहने बताउनुभयो । उहाँ अगाडि लेख्नुहुन्छ, ‘मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको हुँ। अब पनि खटिरहनेछु । अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ ।’

वाग्लेले ३४ हजार ९ सय १९ मत प्राप्त गर्नु भई सांसदमा निर्वाचित हुनुभएको छ । त्यस्तै, भट्टराईले २० हजार १ सय २२ मत मात्र प्राप्त गर्नु भएको छ ।