
काठमाडौं । ‘शुन्य औलो अबको थालनी, नविनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित मंगलबार विश्व औलो दिवस मनाइएको छ ।
नेपालमा पनि मंगलबार विविध जनचेतनामुलक कार्यक्रम गरी विश्व औलो दिवस मनाइएको हो ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्रतिवद्धताअनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ ।
काठमाडौंमा स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले औलो दिवसको अवसरमा कार्यक्रम आयोजना गरी औलोबारे जनचेतनामुलक कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले विगत १० वर्षको तुलनामा औलो नियन्त्रणमा सरकारले सफलता हासिल गरिरहेको बताउनुभयो ।
उहाँले २०७० भन्दा अघिसम्म ३ हजार हाराहारीमा औलोका बिरामीहरु भएपनि अहिले ५ सय भन्दा कम मात्रै बिरामीहरु रहेको बताउनुभयो । उहाँले औलो नियन्त्रणमा चुनौति रहेपनि निगरानी गर्दै अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले आयातित औलो नियन्त्रण नै नेपालका लागि मुख्य चुनौति रहेको बताउनुभयो । औलोको परीक्षण नहुनु, भारतसँगको खुला सीमानाका र भौगोलिक विकटता औलो निवारणका चुनौति रहेको बताउनुभयो ।
त्यस्तै, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य सेवा विभाग स्वास्थ्य साक्षरतामा स्पष्ट खाकासहित अघि बढेको बताउनुभयो । उहाँले औलो नियन्त्रण गर्दै नेपाल लाखौँबाट सयौँमा आउनु आफैंमा खुशीको कुरा भएको बताउनुभयो । उहाँले औलो रोगलाई शुन्यमा झार्न पहल गर्नेपनि बताउनुभयो ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले नेपालमा विगतसय वर्ष यता औलोको समस्या रहने गरेको पाइएको छ । औलोका कारण बिरामीमा पक्षघात र मष्तिस्काघातको जोखिम हुने गरेको चिकित्सकहरु बताउँछन् । औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङ्क्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो ।
प्रतिक्रिया दिनुहोस्