
काठमाडौं । वैदेशिक रोजगारीको नाममा ठगी गर्ने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा महानगरपालिका १८ घर भै काठमाडौं महानगरपालिका जम्बुडाडा बस्ने ३४ वर्षकी विपना कुँवर, झापा कमल गाउँपालिकाकी हरिकला दाहाल, झापा अर्जुनधाराका ओमनाथ मैनाली रहेका छन् ।
कुँवरले सुनिता गोतामेलाई वैदेशिक रोजगारको लागि क्यानडा पठाई दिने भन्दै पटक पटक गरि ९ लाख रुपैयाँ उठाएका थिए ।
क्यानाडाका होटलमा वेटरमा काम लगाइदिने प्रलोभन दिएर आफुसँग पैसा उठाएको पीडित कुँवरको भनाइ छ ।
ठगी गर्ने कुँवरले पैसा लिएर सम्पर्कविहीन भएपछि आफूहरु ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा कारवाहिको लागि निवेदन दिएका थिए ।
त्यसैगरी झापा अर्जुनधारा १ घर भई हाल काठमाडौंको गोङ्गबु बस्ने ४१ वर्षक ओमनाथ मैनालीले वैदेशिक रोजगारीका लागी सिङ्गापुर पठाइ दिन्छु भन्दै मीन बहादुर रानासँग पटक पटक ६ लाख ४० हजार रुपैयाँ लिएर ठगी गरेको जनाइएको छ ।
वैदेशिक रोजगारीको लागि इजरायल पठाइ कन्ट्रायक्टरको काम दिलाइ दिन्छु भन्दै झापा कमल गाउँपालिकाका वर्ष ३२ की हरिकला दाहालले दीपक दाहाल समेत ५ जनासँग पटक पटक गरि ४८ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।
पीडितहरुको निवेदन आएपछि विभागले विपना कुँवर र ओम नाथ मैनालीलाई र हरिकाला दाहाललाई पक्राउ गरि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको थियो ।
विभागको पत्र प्राप्त भएपछि प्रहरीले कुँवरलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका जम्बुडाडाबाट, ओम नाथ मैनालीलाई काठमाडौंको बबरमहलबाट र हरिकला दाहाललाई काठमाडौंको चाबहिलबाट पक्राउ गरि वैदेशिक रोजगार विभाग बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्