
गृष्मा राजभण्डारी र कोमल शेरचन
काठमाडौं । मंगलबार बैशाख १२ गते २०७२ सालमा बिनासकारी भूकम्प गएको ८ वर्ष पूरा भएको छ । समयसँगै भूकम्प सम्झनाको रुपमा मात्र रहे पनि त्यसले भत्काएका भौतिक संरचनाको क्षति र त्यसले ल्याएको त्रास भने वर्षाैंसम्म पनि मेटिएको छैन ।
बैैशाख १२ गते । अर्थात २०७२ सालको भूकम्प गएको दिन । गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर ७.८ म्याग्नेच्युडको भूकम्प गएको ८ वर्ष पूरा भएको छ । बैशाख १२ को भूकम्प र निरन्तरको पराकम्पनकाबीच बैशाख २९ गतेको अर्को ठूलो झड्काले देशैभर ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो ।
१४ जिल्लामा गरी करिब ८ हजार बढी मानिसको ज्यान गएको थियो भने २२ हजार बढी घाइते भएका थिए । भौतिक संरचनामा पनि अभूतपूर्व क्षति भयो । भूकम्पले ९ लाख घर ध्वस्त भए । भूकम्पपछि सरकारले राष्टिय योजना आयोगको अगुवाइमा तथ्यांक संकलन गर्यो । भूकम्प गएको आठ वर्षमा अधिकांश पुनर्निर्माणका काम पूरा भइसकेको सरकारी दाबी छ ।
पुनर्निर्माणको काम लगभग पूरा भएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ०७८ सालमै विघटन गरियो । धरहरा, बसन्तपुर दरबार, काष्ठमण्डप लगायतका सम्पदाको पुुननिर्माण भईसकेको छ । केही सम्पदा क्षेत्रको पुननिर्माण भने अझै सकिएको छैन । सरकारी तथ्यांकमा निजी आवासतर्फ पनि पुनर्निर्माणको काम पूरा भएको छ । तर ८ लाख ३२ हजार ५ सय ८२ लाभग्राहीसँग सरकारले आवास निर्माणका लागि अनुदान सम्झौता भएकोमा ७ लाख ३३ हजार दुई सय १४ लाभग्राहीले मात्रै सम्झौता अनुसार निजी आवास निर्माण सम्पन्न गरेका छन् ।
९९ हजार दुई सय ५६ लाभग्राहीले भूकम्पमा ध्वस्त घर अझै बनाएका छैनन् । निजी घर निर्माणका लागि आठ लाख ३२ हजार चार सय ७० ले पहिलो किस्ता वातपको ५० हजार लिएकोमा ६६ हजार ६ सय नौ लाभग्राहीले दोस्रो किस्ता वापतको रकम नलिएको भवन विभाग अन्तर्गत केन्द्रीय योजना कार्यान्वयन एकाइले जनाएको छ । निजी आवसतर्फको पुनर्निर्माण असफल भएको टिप्पणी अहिले गर्ने गरिएको छ ।
सरकारले डिजाइन गरेको भूकम्प प्रतिरोधी घरले सर्वसाधारणको आवश्यकता पुरा नहुँदा निजी आवासतर्फको पुनर्निर्माण असफल भएको हो । त्यस्तै, सरकारले बनाएका सामूहिक आवसमा पनि मानिसहरु बसेका छैनन् । जुन फजुल खर्च मात्रै भएको छ ।
सरकारले अहिलेसम्म पुनर्निर्माणमा करिब ४ खर्ब रुपैयाँ खर्च भएको दाबी गरेको छ । यद्यपी अहिले उपत्यका भित्री बस्तीहरुमा अहिले पनि भुकम्पबाट भत्केका कतिपय घरहरु टेकोकै भरमा रहेको देख्न सकिन्छ । उता, भूकम्पको केन्द्रविन्दू रहेको गोरखाको बारपाकमा भूकम्प स्मृत उद्यान बनाउन लागिएकोमा त्यो पनि अलपत्र अवस्थामा छ । २०७४ सालमा साढे दुई वर्षमा सम्पन्न गर्ने गरी गरिएको ठेक्काको पाँच पटक म्याद थप्दा पनि भूकम्प स्मृति उद्यान सम्पन्न हुन नसक्नुले पुनर्निर्माणको कमजोर पाटोलाई थप उजागर गर्दछ ।
प्रतिक्रिया दिनुहोस्