
काठमाडौं । सवार्धिक ८ पटकको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लवलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा मंगलवार दोस्रो जित निकालेको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लवले मनाङ मस्र्याङ्दी फुटबल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको हो । १२ औं चरणमा दोस्रो जित निकालेको पुलिसले यसअघि सातौं चरणको खेलमा फ्रेण्ड्सलाई ३–१ गोलले पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो ।
निकै रोमाञ्चक भएको खेलमा पुलिसले सातौं मिनेटमा पेनाल्टीबाट लिएको अग्रता नै स्पष्ट तीन अंक जोड्नका लागि पर्याप्त भएको हो । मनाङका डिफेन्डर रन्दिप पौडेलले पुलिसका विदेशी खेलाडी मोसेस टोएमलाई खराब फाउल गरेपछि पुलिसले पेनाल्टी प्रहारको मौका पाएका थियो ।
पेनाल्टी प्रहारमा आएका मोहम्मद आसिकले अवसरलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पछि परेसँगै खेलमा फर्किन निकै मेहनते गरेको मनाङले केही अवसर पाएपनि सदुपयोग गर्न असफल रह्यो । यससँगै मनाङले लगातार पाँच खेलमा नतिजा सुम्पिएको छ । खराबलाई समाप्त गर्ने लक्ष्यसहित रेलिगेशनको अन्तिम स्थानमा रहेको पुलिसबिरुद्ध मनाङले मंगलवार पनि खुलेर खेल्न सकेन र अंक सुम्पिन बाध्य बन्यो । यस जितसँगै पुलिसले १२ खेलबाट ९ अंक बनाएको छ भने पराजित मनाङको समान १२ खेलबाट १५ अंक छ ।
लिग अन्तर्गत मंगलवार नै दशरथ रंगशालामा भएको खेलमा ललितपुरे टोली फ्रेण्ड्सले काठमाडौं न्युरोड टिम (एनआरटी)लाई ३–१ गोल अन्तरले स्तब्ध बनायो । फ्रेण्ड्सको जितमा राफिक अमिनु, टोरिक जेब्रिन र प्रकाश बुढाथोकीले समान एक÷एक गोल गरे भने एनआरटीका सञ्जिव बिष्टले एक गोल फर्काए । शुरुवातबाट नै आक्रामक हुँदै खेलेको फ्रेण्ड्सले १४ औं मिनेटमा अमिनुको गोलबाट अग्रता लिएको थियो ।
४१ औं मिनेटमा सञ्जिबले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याउँदै टोलीलाई खेलमा फर्काएका थिए । इन्जुरी समयमा फ्रेण्ड्सका जेब्रिनले गोल गर्दै टोलीलाई पहिलो हाफमा २–१ को अग्रता निकाले त्यसपछि खेलको ७६ औं मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेण्ड्सलाई ३–१ को जित निश्चित गरे । यससँगै फ्रेण्ड्सले जारी लिगमा चौथो जित निकालेको छ । १२ खेल खेलेको फ्रेण्ड्सले तालिकामा १४ अंक पु¥याएको छ । यस्तै पराजित एनआरटीले १२ खेलमा १३ अंक जोडेको छ । एनआरटी फ्रेण्ड्स भन्दा एक स्थान मुनि ११ औं स्थानमा छ ।
लिग अन्तर्गत बुधवार पनि तीन खेल हुनेछन् । च्यासल मैदानमा सातदोबाटो युथ क्लवले संकटा क्लवसँग प्रतिष्पर्धा गर्दा दशरथ रंगशालामा थ्री स्टार र मच्छिन्द्र फुटबल क्लवबीच खेल हुनेछ । यस्तै दिनको अन्तिम खेल दरशथ रंगशालामा नै हिमालयन शेर्पा क्लप र जावलाखेल युथ क्लव आमने सामने हुने छन् ।
प्रतिक्रिया दिनुहोस्