
सुनसरी । सुनसरीको नेपाल भारत सीमा नाकाबाट श्रोत नखुलेको रकमसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले चेकजाच गर्ने क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका–१२ का १८ वर्षीय सुरेश लिमबु र १७ वर्षीय विकास मण्डललाई पक्राउ गरिएको हाे ।
कोसी गाउँपालिकाको नेपाल–भारत सीमानाकाबाट उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रहरी नकेशकुमार तुम्बाहाम्फेले जानकारी दिए।
नेपाल–भारत चारकुने नाकाबाट नेपाली र भारतीय नोटसहित उनीहरुलाई पक्राउ गरिएको तुम्बाहाम्फेले बताए। पक्राउ परेकाहरुको साथबाट श्रोत नखुलेको नेपाली ४ लाख ३४ हजार ७ सय २० रुपैयाँ र ५९ हजार ६ सय १० भारतीया रुपैयाँ बरामद गरिएको तुम्बाहाम्फेले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई बरामत गरिएको नगदसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको गणका प्रवक्ता समेत रहेका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम प्रसाद सिंदेलले बताए । बरामत गरिएको नगद सक्कली वा नक्कली हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।
नेपाल भारत सीमानाकाबाट सशस्त्र प्रहरीले हप्तादिन भित्र २० लाख भन्दा बढी श्रोत नखुलेको रकमसहितका व्यक्ति पक्राउ गरी राजस्व कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल बराह बाहिनी सुनसरीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनीकुमार पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस्