
काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा राजनीतिक दल र भातृ संगठनका कार्यक्रम गर्न दिने विद्यालयका प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने तयारी गरेको छ ।
काठमाडौं महानगरपालिकाले महानगरभित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भातृ सङ्गठनका कार्यक्रम सञ्चालन भएकोबारे ध्यानाकर्षण भएको जनाएको छ । यस्ता कार्यक्रम गर्न दिने विद्यालयबारे अनुसन्धान हुने महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिनुभयो ।
प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक दल र भातृ संगठनका कार्यक्रम गरिएको प्रमाणसहितको उजुरी महानगरको शिक्षा विभागमा आएको कोइरालाले बताउनुभयो । उहाँका अनुसार उजुरीको आधारमा सम्बद्ध विद्यालयमा अनुगमन गर्ने र त्यस्ता कार्यक्रम गरेको पाइए सम्बन्धित विद्यालयका प्राधानाध्यापकलाई विभागीय कारबाहीसमेत गर्ने तयारी छ ।
अब उप्रान्त त्यस्ता कार्यक्रम नगर्न पनि महानगरले सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ ।
यसै शैक्षिक सत्रदेखि सबै सामुदायिक विद्यालयमा ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम गर्न लागिएको कोइरालाले जानकारी दिनुभयो । सो बमोजिम अब विद्यार्थीले प्रत्येक शुक्रबार किताब नबोकी नियमित समयममै विद्यालय जानु पर्ने छ ।
उक्त दिन अन्य क्रियाकलाप वा व्यवहारिक ज्ञानका क्रियाकलाप गराइने महानगरको तयारी छ । प्रत्येक सामुदायिक विद्यालयले उक्त कार्यक्रम अनिवार्य लागू गर्नु पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्