
काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले नेपालमा थप साढे ९ अर्ब बढी लगानी थप्दै छ । आज लगानी बोर्डसँग सम्झौताभएसँगै उक्त लगानी कार्यान्वयन गर्ने बाटो खुल्ला भएको हो ।
लगानी बोर्ड र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधीकरण परियोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न पुनर्लगानीका रुपमा लगानी हुने परियोजनाको समझदारी पत्रमा बिहीबार हस्ताक्षर भएको हो ।
बोर्डको कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा लगानी बोर्डका सदस्य रमेश रिजालको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका बिजनेस हेड हरकिरत सिंह वेदीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधीकरणको लागि बोर्डको ४९औँ बैठकले २०७८ माघ २५ मा सम्पन्न बैठकले लगानी स्वीकृत गरेको थियो । कम्पनीको प्रस्तावअनुसार ९ अर्ब ६८ करोड रुपैयाँ थप लगानी हुने छ ।
हस्ताक्षरपछि डाबर नेपालका वेदीले नेपालमा आर्जित पुँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पुँजीवृद्धिमा लगानी गर्न पाउँदा खुसी लागेको बताउनुभयो । बोर्डका प्रमुख कार्यकारी भट्टले डाबर नेपालबाट हुनलागेको पुनर्लगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास, भरोस र व्यवसाय विस्तारको प्रचुर सम्भावनालाई उजागर गरेको उल्लेख गर्नुभयो ।
यस्तै, मन्त्री रिजालले यसले लगानीकर्तामाझ ठूलो सन्देश प्रवाहित हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्