२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रिय स्वतन्त्र पार्टीको अकल्पनीय जितपछि कांग्रेसमा तरंग


5.135k
Shares

काठमाडौं । भर्खरै सम्पन्न उपनिर्वाचन परिणामले नेपालको राजनीतिक वृत्तमा अनेकथरि अडकल प्रारम्भ भएको छ । दल स्थापनाको वर्ष दिन पूरा नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीले अकल्पनीय जित निकालेपछि एकछत्र शासन गर्दै आएका मूलधारका दलहरुमाथि प्रश्न उठेको छ । उपनिर्वाचन भएका तीनमध्ये दुई क्षेत्रमा रास्वपाले लामो राजनीतिक विरासत बोकेको नेपाली कांग्रेसलाई भारी मतान्तरले पराजित गरेको छ । उसले कांग्रेसबाटै राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलकै खेलखोर तनहुँ–१ र चितवन–२ मा गौरवशाली जित निकालेको छ ।

उपनिर्वाचनको नतिजाले सरकार निर्माणदेखि राजनीतिक समीकरणको जोड–घटाउमा ठूलो प्रभाव नपारे पनि जनमतमार्फत् आएको सन्देशले मूलधारका दलहरु तरंगित भएका छन् । यसको सबैभन्दा ठूलो प्रभाव नेपालको पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसमा परेको छ । नेतृत्वमाथि गम्भीर आरोप लगाएर पार्टी परित्याग गरेको २५ दिनमै अर्थविद् डा. स्वर्णिम वाग्ले नयाँ दलबाट निर्वाचित भएपछि रास्वपालाई कांग्रेसका असन्तुष्ट नेता–कार्यकर्ताहरुले रोज्ने विकल्पका रुपमा हेर्न थालिएको छ ।

यद्यपि, राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आदर्श मानेको कांग्रेसको जसरी रास्वपाको पार्टी विधानमा वैचारिक र सैद्धान्तिक धरातल भने प्रस्ट छैन । तर, कांग्रेसबाटै राजनीति सुरु गरेका डा. वाग्ले, मनिष झा, विराजभक्त श्रेष्ठ रास्वपाका सांसद भएका कारण उक्त दललाई कांग्रेसका मतदाताका लागि विकल्पका रुपमा थप सहज भएको हो ।

वाग्ले र झाले रास्वपामा प्रवेश गर्नुअघि कांग्रेसमा अनेक जिम्मेवारी सम्हालिसकेका छन् । वाग्ले प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि र झा स्थानीय तह निर्वाचनका लागि कांग्रेसले गठन गरेको घोषणा पत्र तयारी समितिमा थिए । यस्तै, महामन्त्री गगन थापाको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन घोषणा पत्र तयारी समितिमा झा सदस्य थिए । उक्त निर्वाचनमा घोषणा पत्र लेख्नुका साथै झाले कांग्रेसको पक्षमा मत माग्दै प्रचार गरेका थिए ।

रास्वपाको सैद्धान्तिक, वैचारिक तथा वर्गीय आधार के हो ? रास्वपाको पार्टी संचालन प्रणाली के हुन्छ ? आन्तरिक लोकतन्त्र कस्तो हुन्छ ? निर्णय प्रक्रिया कस्तो हुन्छ ? रास्वपा विधिसम्मत र विधानसम्मत रुपमा संचालित हुन्छ कि नेतृत्वको लहड र स्वार्थको आधारमा ? रास्वपा पार्टी र पार्टी निर्माण प्रक्रियाको बारेमा उत्तर भन्दा प्रश्न धेरै रहेकाले अहिले नै रास्वपा कांग्रेसको विकल्प हुन्छ भनेर सोच्नु हतारो हुने केहीको विश्लेषण छ ।

जनतामाझ देखिने, सुनिने र बुझिने गरी कार्ययोजना बनाएर पार्टी सञ्चालन गरेर अगाडि बढे रास्वपा लोकतान्त्रवादी नेता–कार्यकर्ताहरुका लागि विकल्पका रुपमा आउन सक्ने आधार भने प्रष्ट देखिन्छ । उपनिर्वाचन नेपाली जनताको पछिल्लो मनोविज्ञान र मनस्थिति बुझ्न काफी प्रष्ट चित्र हो । अझै पनि पुराना पार्टीलाई आउँदो निर्वाचनसम्म सुध्रने समय छ ।

मंसिरको निर्वाचनबाट पुराना पार्टीलाई सन्देशमूलक झट्का मिलेकै थियो । पुराना पार्टीले गढ भनेका निर्वाचन क्षेत्र गुमाउनु उनीहरूले पाठ लिनका लागि काफी थियो ।
मधेसमा जनमत र सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको उदय नै ठूला र पुराना पार्टीलाई सन्देश थियो– जनता परिवर्तन चाहन्छन् । पुराना पार्टी सुध्रिएनन् । फेरि सत्ताको फोहोरी खेलमा गठबन्धन दुई महिनामै भत्काउने र बनाउने दृश्य देखिए ।

त्यसैको परिणाम यसपालि बैशाख १० को उपनिर्वाचनले झन् फेरि सन्देश दिएको छ-जनतालाई पुराना पार्टीले गर्दै आएको शासनशैली पटक्कै चित्त बुझेको छैन, त्यसो हुँदैनथ्यो भने २०४८ सालदेखि एक पटकबाहेक सधैं कांग्रेसका तर्फबाट रामचन्द्र पौडेलले जितिरहेको तनहुँ १ मा नयाँ पार्टी रास्वपाले बाजी मार्दैनथ्यो । जनतामा भिजेका कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई समेत पराजित गरेर तनहुँका जनताले पाहुना मानिएका रास्वपाका स्वर्णिमलाई ठूलो मतान्तरले जिताइदिए ।

चितवनमा रवि लामिछानेलाई पहिलाभन्दा झन् बढी मत प्राप्त हुनु भनेको जनताको आशक्ति नयाँ दलसँग छ भन्ने नै हो । आखिर उनीमाथिका प्रहार सबै निष्फल भए । पुराना र सत्तामा पटकपटक परीक्षित पार्टीलाई उनीहरूले कत्ति विश्वास गरेनन् । सत्ता गठबन्धनमात्रै होइन प्रतिपक्ष एमालेको समेत मत जोडिएको भए पनि रास्वपा सभापतिलाई हराउन नसक्ने प्रष्ट मत प्राप्त हुनुको अन्तर्य पुराना सबैजसो दलमाथि जनताको भरोसा उडेको प्रमाण हो ।

रास्वपालाई प्राप्त मत गाली, आवेग र आक्रोश अनि पुरानाप्रतिको वितृष्णामात्रै हो भनेर जसरी एकथरीलाई मंसिरको निर्वाचन परिणामपछि लागेको थियो । उपनिर्वाचन परिणामले भने जनताले आवेग नभएर पुराना दलप्रति भरोसा टुटेको र नयाँमा आशा जागेको पुष्टि गरेको छ ।