१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले लिए पद तथा गोपनियताको शपथ


104
Shares

काठमाडौं । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख पृथ्वीमान गुरूङसमक्ष पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच आलोपालो सरकारको नेतृत्व लिने सहमतिअनुसार पहिले कांग्रेसलाई मुख्यमन्त्री दिइएको हो ।

पाण्डेले मुख्यमन्त्रीका लागि बिहीबार कांग्रेसका २७, माओवादीका ७ र स्वतन्त्र (एकीकृत समाजवादी प्रवेश गरेका) एक गरी ३५ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।

यसैबीच गण्डकी सरकारमा शुक्रबार नै पहिलो पटक दुई महिला एकै पटक मन्त्री नियुक्त भएका छन् । माओवादीबाट सुशीला सिम्खडा र कांग्रेसबाट सरस्वती अर्याल तिवारी मन्त्री नियुक्त भएका हुन् ।

यस्तै, लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

चौधरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य लिला गिरीसहित गठबन्धनमा रहेका राजनीतिक दलका नेता कार्यकर्ता सहभागी थिए ।

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) का एक–एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९ र राप्रपाका ४ गरी ३३ जना अहिलेको सरकारको विपक्षमा रहने भएका छन् ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा तीन मन्त्रीले विना विभागीय मन्त्रीको सपथ लिने भएका छन् ।

मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ ।