१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णय मेरो जानकारीमा छैन : अर्थमन्त्री महत


689
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अयोग्य लडाकुलाई दुई लाख दिने मन्त्रिपरिषद्को निर्णयबारे अनविज्ञ रहेको बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय युवासंघले अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णय बिरुद्धको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो ।

उहाँले पैसा बाड्ने कार्यविधि मन्त्रिपरिषद्ले पास गरेर अगाडि बढाउनेबारे मलाई जानकारी नभएको पनि बताउनुभयो । उहाँले आफू अर्थमन्त्री भएर आए पश्चात अर्थ मन्त्रालय र मन्त्रिपरिषद्ले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय नगरेको स्पष्ट पार्नुभयो ।

उहाँले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय अर्थमन्त्रीले गरेको भन्ने समाचार बाहिर आएको भएपनि आफू अर्थमन्त्री भएपछि यस्तो खालको निर्णय अर्थ मन्त्रालयमा नभएको बताउनुभयो । उहाँले बजेटमा व्यवस्था भएअनुसार त्यसको कार्यविधि गृह मन्त्रालयले बनाउने भएकाले गृह मन्त्रालयले कार्यविधि बनाउने विषय जानकारीमा आएको बताउनुभयो ।

उहाँले आफू अर्थमन्त्री भएर आएपछि अयोग्य लडाकु लगायतका विषयमा अर्थ मन्त्रालय संलग्न नभएको दोहोर्‍याउनुभयो । अर्थमन्त्री महतले नेकपा माओवादीको चिन्ता,चासो माग भएपनि सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन गरी सत्य निरुपण आयोगबाट समाधान गर्दा उत्तम हुने धारणा राख्नुभयो ।

अर्थमन्त्री डा.महतले सरकार अनावश्यक खर्च गर्ने,नचाहिने ठाउँमा राज्यको ढुकुटी खर्च गर्ने, भ्रष्टाचार गरी बेथिति गर्ने कुनैपनि काम सरकारबाट नहुने बताउनुभयो । उहाँले अर्थमन्त्री महतले आफू कुनै पार्टी,व्यक्तिलाई राज्यको ढुकुटीबाट पोस्ने काम नगर्ने प्रतिवद्धता जनाउनुभयो ।