
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको निजी क्षेत्रलाई हेर्ने देष्टिकोण परिवर्तन हुनुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा ग्रिल तथा स्टिल व्यवसायी महासंघले गरेको कार्यक्रममा अध्यक्ष ढकालले अर्थतन्त्रमा ८० प्रतिशत योगदान पुर्याउने निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको गुनासो गर्नुभएको हो ।
उहाँले पछिल्लो समय निजी क्षेत्रमाथि नाफाकालागि मात्रै काम गर्ने आरोप लाग्ने गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले निजी क्षेत्रको प्रोटोकल कायम गर्न आवश्यक रहेको पनि बताउनुभयो । उहाँले सरकारले कुनै अनुदान र पैसा बिना मनोबल मात्रै बढाउने काम गरेपनि ठूलो प्रोत्साहन मिल्ने उल्लेख गर्नुभयो ।
महासंघका उपाध्यक्ष हेमराज ढकालले महासंघको वर्तमान नेतृत्वले आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्र बनाउन भुमिका खेल्ने बताउनुभयो ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले सरकारको स्पष्ट नीति अभावकै कारण देशभरमा ६० प्रतिशत स्टिल व्यवसायी कानुनी दायरामा आउन नसकेको बताउनुभयो ।
उहाँले पछिल्लो समय सामान्य ग्रिल जन्य वस्तुहरु पनि बाहिरबाट आउने गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्