
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले एक दैनिक पत्रिकामा ‘राष्ट्रिय परिचयपत्र प्रमाणीकरणमा प्रधानमन्त्रीका आइटी विज्ञको रुचि’ शीर्षकको समाचारमा आफूलार्ई जोडेर आएको विषय आधारहीन, कपोलकल्पित र बदनाम गर्ने नियतले उल्लेख भएको प्रष्टयाउनुभएको छ ।
आज एक वक्तव्य जारी गर्दै उहाँले राष्ट्रिय परिचयपत्रमा अभिलेख हुने नागरिकको जैविक र वैयक्तिक विवरणमा निजी क्षेत्रको पहुँच हुने किसिमले कार्यविधि निर्माण गरेर अमूक कम्पनीलाई ठेक्का दिइएको विषयमा नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले यसअघि नै निर्णय गरिसकेको जनाउनुभएको छ ।
सञ्चारमाध्यमले कुनै पनि कुरा प्रकाशन गर्दा त्यसको विश्वसनीयता र भरपर्दो आधार प्रस्तुत गर्नु सञ्चारमाध्यमको आधारभूत धर्मसमेत रहेको स्मरण गराउँदै उहाँले आफूले आइटी विज्ञका रूपमा सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा सुशासन कायम गर्न खोजेको प्रयासलाई रोक्ने र अन्ततः सरकारलाई नै बदनाम गर्ने रहेको स्पष्ट देखिएको बताउनुभएको छ ।
प्रधानमन्त्री दाहालले नागरिकले प्राप्त गर्ने सार्वजनिक सेवा प्रवाहलाई सहज, सरल र झन्झटमुक्त बनाउने निर्देशन दिएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकको व्यक्तिगत विवरण प्रयोग गरिरहेका नेपाल सरकारका कैयौँ निकायबीच अन्तरआबद्धता कायम गर्न सहजीकरण गर्दै आएको उहाँको भनाइ छ ।
“सुनियोजितरूपमा म र मेरो नाम जोडेर, मसँग कुनै प्रतिक्रियासमेत नलिई मेरो मानमर्दन र चरित्रहत्या गर्ने तथा प्रधानमन्त्री कार्यालयलाई नै बदनाम गर्ने नियतले समाचार प्रकाशन गरेकोले उक्त समाचारको खण्डन गर्न चाहन्छु”, उहाँले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्