
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार विश्वासको मत लिने हुनुभएको छ ।
मुख्यमन्त्री चौधरीले वैशाख १८ गते सोमबार प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नु भएको हो ।
सरकारलाई चाँडै पूर्णता दिनका लागि चौधरीले मुख्यमन्त्री नियुक्त भएको चार दिनमै विश्वासको मत लिन लाग्नुभएको बताइएको छ ।
संविधानले मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ ।
प्रदेश सभामा आफूअनुकुलको अंकगणित रहेकाले पनि मुख्यमन्त्रीले चाँडै विश्वासको मत लिन लाग्नुभएको हो ।
बिहीबार आठ दलका ५३ सांसदको समर्थनमा चौधरी मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । ८७ सदस्यीय प्रदेश सभाबाट विश्वास प्राप्त गर्न ४४ सांसदको समर्थन प्रयाप्त हुन्छ ।
मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) का एक/एक जना र स्वतन्त्र एक सांसद गरी ५३ सांसदको समर्थन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्