१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउनु पर्छ : रविन्द्र मिश्र


455
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सरकारले आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानून निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार माईतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुग्नुभएका उहाँले आविष्कार क्षेत्रलाई प्रवर्द्धन नगरी कुनैपनि देश आर्थिक रुपमा अघि बढ्न नसक्ने भन्दै सरकारले आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउनु पर्ने बताउनु भएको हो ।

वरिष्ठ उपाध्यक्ष मिश्रले अयोग्य लडाकुलाई सीपको सट्टा पैसा बाँड्ने काम कुनै हालतमा सह्य नहुने बताउनुभयो । उहाँले भएका प्राकृतिक सम्पदाको दोहन गर्न बजेट छुट्याउने तर आविष्कारको प्रवर्द्धनका लागि बजेट नछुट्याउनु सरकारको लापरबाही रहेको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष मिश्रले शुक्रबार मध्यरातिबाट अन्त्य भएको संसद अधिवेशनमा प्रधानमन्त्री नियुक्ति बाहेक अरू काम हुन नसकेको ठोकुवा गर्नुभयो ।

उहाँले विवेक हराएर निदाएका नेताहरुलाई विवेक जगाउन महावीर पुनले गरेको आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्ण समर्थन र साथ रहने प्रतिबद्धता जनाउनुभयो ।

राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले राखेका मागहरुको समर्थन गर्नका लागि राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसहितका नेताहरू माईतीघर पुग्नुभएको थियो ।