
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिनुभएको छ ।
शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरू गर्नुभएका उहाँले नेताहरुले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिनुभएको हो ।
पुनले सांसदहरूले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानून बनाउन समय नमिल्ने हो ? भन्ने प्रश्न गर्दै सांसदहरुले कानून बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताउनुभयो । अरू हेर्ने विभाग भएपनि अनुसन्धान आविष्कार नवप्रवर्द्धन गर्ने विभाग नभएको भन्दै उहाँले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने स्पष्ट पार्नुभयो ।
पुनले सबै नेताहरू आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसदमा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गर्नुभयो । उहाँले नेताहरूले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेको बताउनुभयो ।
पुनले आफ्नो आन्दोलन सबै सानातिना आन्दोलनहरु पूरा गर्नको लागि अर्थतन्त्र सुधार्ने जन आन्दोलन भएको बताउनुभयो । उहाँले आफूले यो आन्दोलन मनलाग्दी रूपमा नल्याएको र निचोडमा पुगेरै छोड्ने प्रतिबद्धता जनाएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्