
काठमाडौं । कर्णाली प्रदेशका सांसदहरूले आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन माग गरेका छन् ।
संघीय संसदमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने १४ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त योजना पेस गर्दै कर्णालीलाई प्राथमिकतामा राख्न माग गरेका हुन् ।
कर्णालीमा निरपेक्ष गरिबी २८ दशमलव ९ प्रतिशत रहेको र वार्षिक प्रतिव्यक्ति आय मात्र ९ सय ४४ अमेरिकी डलर रहेकोले समग्र विकासको हिसाबले कर्णाली अझै पछाडि रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
कर्णाली विकासका लागि दीर्घकालीन महत्वका योजनामा कृषि उत्पादन र रोजगारी वृद्धिलाई जोड दिइएको छ । जसअनुसार कर्णाली प्रदेशको कृषि उत्पादन जडीबुटी, लघु उद्योगहरुलाई व्यापक र व्यवस्थित गर्न पाँच अर्ब बजेट माग गरिएको छ ।
कर्णाली प्रदेशका सबै माध्यमिक विद्यालयको भौतिक पूवार्धारका साथै डिजिटल बोर्डलगायतको प्रविधि पूर्वाधार व्यवस्थापन गरी गुणस्तरीय शिक्षा प्रदान गर्न डिजिटल शिक्षण सञ्चालन गर्न आवश्यक बजेट माग गरिएको छ ।
स्वस्थ जनशक्ति निर्माण गर्न जिल्ला, पालिका, वडा अस्पतालको पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि आवश्यक स्रोत जुटाइदिन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्