
काठमाडौं । बुटवल–तानसेन सडकखण्ड अब रातिमा मात्र बन्द हुने भएको छ ।
गत चैत २१ गतेबाट दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै आएकोमा अब राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि दिउँसो र राति गरेर दैनिक ९ घण्टा बन्द हुँदै आएकोमा अब राति मात्र बन्द हुने भएको हो ।
निर्माण व्यवसायीले तदारुकताका साथ काम नगरेपछि सर्वसाधारणले दिउँसोमा सडक बन्द नगर्न माग गरेपछि रातिको ६ घन्टा मात्र बन्द गराइएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले राजमार्गमा आवागमन बन्द गर्न माग गरे पनि काममा भने तीव्रता नदिएकाले यात्रुले विरोध गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्