
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको माईतीघर मण्डलामा जारी अनुसन्धान, नवप्रर्वतन र आविष्कारका लागि जारी सामाजिक आन्दोलन र धर्ना कार्यक्रमप्रति ऐक्यवद्धता जनाएको छ।
आइतबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोली धर्ना कार्यक्रम स्थल पुगेर राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनप्रति आफ्नो पार्टीको साथ, सहयोग र समर्थन रहिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको हो ।
उहाँले देशका लागि सुरु गरिएको सामाजिक आन्दोलन तथा धर्ना कार्यक्रममा साथ दिन पनि सिंगो देशबासीलाई अपिल गर्नुभयो । अध्यक्ष लिङ्देनले सोही आन्दोलनको माग देशका लागि भएकाले तत्काल सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गर्नुभयो ।
उहाँले यी माग सरकारलाई पूरा गराउनका लागि बाध्य पार्ने गरी आन्दोलनको आँधिबेहरी सिर्जना गर्न पनि सिंगो देशबासीलाई आग्रह गर्नुभयो । अध्यक्ष लिङ्देनले संसदमा पूरा गर्नुपर्ने माग हो भनेर भ्रम छर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
अध्यक्ष लिङ्देनले देशको भविष्य र सन्ततिको भविष्यका लागि एक वैज्ञानिक पुनले राख्नु भएको माग सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारलाई चेतावनी दिनुभयो । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले आगामी आर्थिक वर्षमा विकास बजेटको एक प्रतिशत बजेट अनुसन्धान, नवप्रर्वतन र आविष्कार कोषमा छुट्टयाउन सरकारसँग माग गर्नुभयो ।
उहाँले मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि आफूहरुले याे आन्दोलन गर्नु परेको पनि पटक-पटक दोहोर्याउनुभयो । पुनको अगुवाईमा सुरु भएको याे आन्दोलनमा वरिष्ठ चिकित्सक गोविन्द केसी लगायतले पनि ऐक्यवद्धता जनाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्