
काठमाडौं । बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद सहभागिता हुने हुनुभएको छ ।
चाल्र्स तृतीयको राज्याभिषेकमा यही बैशाख २१ गते बेलायत जाने तय भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिनुभएको छ ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेल उक्त कार्यक्रममा जाने तय भएको थियो । स्वास्थ्य अवस्थाका कारण पौडेल जान नसक्ने भएपछि नेपालका राष्ट्रप्रमुखको २० वर्षपछि हुन लागेको बेलायत भ्रमण स्थगित भएको हो ।
यसअघि सन् २००३ मा तत्कालीन राजा ज्ञानेन्द्रले राष्ट्रप्रमुखको हैसियतमा बेलायत भ्रमण गर्नुभएको थियो । त्यसअघि स्वर्गीय राजा वीरेन्द्रले सन् १९८० र १९९५ मा तथा राजा महेन्द्रले सन् १९६० मा बेलायत भ्रमण गर्नुभएको थियो ।
नेपालका राष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी दुवैले भ्रमण गर्ने अवसर पाउनुभएन । आगामी मे ६ तारिख (बैशाख २३)मा लण्डनको वेस्टमिनिस्टर गिर्जाघरमा राज्याभिषेक समारोह हुने छ ।
राज्याभिषेक समारोहमा झन्डै दुई हजार पाहुनालाई आमन्त्रण गरिएको जनाइएको छ । वेस्टमिनिस्टर आबीमा सन् १०६६ देखि राज्याभिषेक समारोह हुँदै आएका छन् । परराष्ट्रमन्त्री साउद राज्याभिषेकमा सहभागी भएर बैशाख २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्