
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको मागमा ऐक्यवद्धता जनाउने राजनीतिक पार्टी र संस्थाहरु बढ्न थालेका छन् ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै बैशाख १५ गतेबाट काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनमा उत्रिनुभएका पुनको मागलाई समर्थन गर्नेहरुको संख्या बढ्दै गएको हो ।
राष्ट्रिय प्रजातन्त्त पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत अन्य पार्टी र विभिन्न संघसंस्थाहरुले उहाँको मागमा ऐक्यवद्धता जनाएका छन् । संस्था र पार्टीमात्रै नभइ व्यक्तिहरुले पनि पुनको मागमा समर्थन जनाएका छन् । कानून व्यवसायीदेखि मोर्चाहरुले समेत उहाँको मागको समर्थन गरेका छन् ।
कानून व्यवसायीहरुको तर्फबाट ऐक्यवद्धता जनाउन माईतीघर पुग्नुभएका वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले मुलुक राजनीतिले मात्रै नचल्ने बताउनुभयो । उहाँले उद्योग धन्दा, कलकारखाना र नवप्रवर्तनले नै मुलुकको विकास हुने भन्दै आविष्कारको क्षेत्रमा सरकारले लगानी गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले सत्ता गठबन्धन परिवर्तन गर्ने र दुई महिनामा सरकार परिवर्तन गरेर मात्रै देशको विकास सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले महावीर पुनको सामाजिक आन्दोलनलाई अन्देखा गरिए देशभर झनै बिद्रोह चर्किने चेतावनी दिनुभयो ।
त्यस्तै, पुनको आन्दोलनलाई समर्थन गर्न पुग्नुभएका संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, अध्यक्ष तारानाथ लुईंटेलले वर्तमान सरकारले विकासको लहर देख्न नसकेको बताउनुभयो । उहाँले नेपालीहरुले उत्पादन गरेका सामग्रीहरुको सरकारले प्रोत्साहन गर्न नसकेको बताउनुभयो । उहाँले महावीर पुनको आन्दोलनलाई आफूहरुको पूर्ण समर्थन रहेको बताउनुभयो । त्यस्तै, पुनको आन्दोलनलाई समर्थन गर्न पुग्नुभएका अर्का एक व्यक्तिने पनि पुनको माग जायज रहेको बताउनुभयो ।
उहाँले सरकारले तत्काल पुनका मागहरुको सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्