
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा सोमबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुने भएकाे छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साेमबार बिहान ९ बजेदेखि खेल सुरु हुने भएकाे हाे । यो खेलको विजेता टोलीले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एशिया कप क्रिकेटमा सहभागि हुन पाउनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफ्गानिस्तानसँग प्रतिस्पर्धा गर्न पाउने भएकोले सोमबारको खेल नेपाल र युएई दुवै देशका लागि निकै महत्वपूर्ण रहेको छ ।
नेपाल र युएईबीचकाे खेल वर्षाले प्रभावित हुन सक्ने अनुमान गरिएको छ । काठमाडौंमा सोमबार पनि भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । सोमबारको खेल वर्षाले अवरुद्ध भएको अवस्थामा खेल जहाँ रोकिएको छ । मंगलबार त्यहींबाट बाँकी खेल सुरु हुनेछ ।
मंगलबार पनि वर्षाले खेलको नतिजा आउन नसकेमा सुपर ओभर खेलाउन प्रयास गरिनेछ । सुपर ओभर बराबर भएको अवस्थामा अर्को सुपर ओभर हुनेछ । तर लगातारको वर्षाले सुपर ओभर पनि खेलाउन सकिएन भने नेपाल आइसिसी वरियताको कारण एशिया कपमा पुग्नेछ ।
एक दिवसीय वरियतामा नेपाल १४ औं स्थानमा छ भने युएई १९ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्