
काठमाडौं । १९ औं शताब्दीको औद्योगिक क्रान्तिका कारण यूरोपका उद्योगपतिले श्रमिकलाई गरेको शोषणको प्रतिवादमा मजदुरहरुले गरेको आन्दोलनको सम्झना स्वरुप मे दिवस मनाउन सुरु गरिएको हो । विश्वभर विभिन्न कार्यक्रम गरेर मजदुर दिवश मनाएपनि वास्तविक मजदुरहरु भने आफ्नै दिवसबारे वेखवर छन् । मजदुरका नाममा तोकिएको ८ घण्टा काम, आठ घण्टा आराम र आठ मनोरञ्जनको नारा फगत मृगतृष्णा बनेको छ ।
नेपालमा चर्को घाम, जाडो, झरी लगायतका कयौं समस्यालाई लुकाएर मजदुरी गर्नेहरुको संख्या लाखौं छ । त्यसमाथि मजदुरलाई उचित पारिश्रमीक नदिनुका साथै गाली गलौज गर्नेहरुको जमात त्यतिकै छ । श्रमिककै पक्षमा काम गर्ने भनेर स्थापना सरकारी निकायदेखि पार्टीका ट्रेड युनियन संस्थाहरु खासै प्रभावकारी हुन सकेका छैनन् । विभिन्न सरकारी तथा नीजि संस्थामा काम गर्ने श्रमिकहरु न्यूनतम सुविधाबाट नै बञ्चीत हुनुपर्ने बाध्यता छ । दैनिक ज्याला मजदुरी गर्ने श्रमिकको अवस्था झन् दयनीय छ । आराम र मनोरञ्जनको त कुरै छैन काम मात्र पाएपनि सहज हुने वर्ग ठूलो छ ।
त्यसो त आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको मागलाई स्थापित गराउन गरेको संघर्षलाई सम्झिएर मे १ को दिन मनाइन्छ । नेपालका कतिपय श्रममीकहरुले काम, आराम र मनोरञ्जनलाई समय दिएपनि दैनिकी मजदुरी गरेर घर चलाउने मजदुर भने सधैं कामको खोजीमा भौतारीनुपर्ने अवस्था छ ।
नेपालमा २००७ सालको क्रान्तिसंगै मे दिवस मनाउन थालिएको हो । यहाँ श्रमकै अभावमा विदेशीने हरुको संख्या वर्षैनी पाँच लाख बढी छ । नेपालमा भएको अनौपचारीक र स्वरोजगार क्षेत्र समेटिने योजना पनि सरकारले ल्याएको पाइदैन । भएको श्रम क्षेत्रमा पनि उचित मूल्याङकन हुने अवस्था छैन । अझ पछिल्लो समय बढ्दो महँगीका कारण श्रम गरेर घर, चुल्हो धान्य अवस्थामा छैन ।
नेपालमा श्रमशक्ति ६० लाख ८६ हजार बढी रहेको छ । ती मध्ये औपचारिक २६ लाख ७५ हजार र अनौपचारिक क्षेत्रमा १४ लाख ३४ हजार श्रमिक कार्यरत छन् । मालीक र श्रमिकहरुको दूरी, श्रमीकहरुले खेप्ने गरेको विभेद, तलब सुविधालगायतका विषय तथा ज्याला मजदुरी गर्नेहरुले मजदुरीको सही वातावरण पाउने हो भने मात्र मजदुर दिवसको औचित्य रहने प्रष्ट छ ।
प्रतिक्रिया दिनुहोस्