
काठमाडौं । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलले मंगलबार पनि निरन्तरता पाउदैछ । टियू क्रिकेट मैदानमा सोमबार वर्षाले पटक पटक बिथोलिएको खेल मंगलबार बिहान ९ बजेदेखि सुचारू हुनेछ ।
सोमबार टस हारेर ब्याटिङमा आएको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको अवस्थामा बिहान ११ बजेर ५० मिनेट जाँदा खेल रोकियो । दिउँसो साढे ३ बजेसम्म पनि वर्षा नरोएिकपछि सिंगापुरका म्याच रेफ्री सारिका प्रसादले बाँकी खेल मंगलबार हुने घोषणा गर्नुभएको हो ।
९ विकेटको क्षतिमा १०६ रनको अवस्थाबाटै मंगलबार युएईले आफ्नो बाँकी ब्याटिङ गर्नेछ ।
मंगलबार पनि वर्षाले खेलको निर्णय आउन सकेन भने खेल सुपर ओभरमा पुग्नसक्छ । त्यहाँबाट पनि परिणाम सम्भव नभए आईसीसीको एक दिवसिय वरियतामा युएईभन्दा माथि रहेको कारण नेपाल विजेता बन्नेछ । मंगलबार विजयी हुने टोलीले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप क्रिकेट खेल्न पाउने भएकोले दुबै टोलीका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ ।
यो खेलबाट छानिने टोलीले एसिया कपको भारत र पाकिस्तान सम्मिलित समुहमा प्रतिस्पर्धा गर्न पाउनेछ ।
प्रतिक्रिया दिनुहोस्