
काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएसनले तेस्रो दिन पनि बिरोध प्रदर्शन गरेको छ ।
बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दवाव दिंदै मंगलबार पनि बिरोध प्रदर्शनलाई निरन्तरता दिएको हो । बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अविलम्व प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिनुभयो । उहाँले आन्दोलन एक हप्तासम्म जारी रहने बताउनुभयो ।
कानून व्यवसायीहरुले संवैधानिक दायित्व पूरा गरेर प्रधानन्यायाधीश नियुक्ति अविलम्व गर्न माग समेत गरेका छन् । कानून व्यवसायीहरुले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्व गर, सर्वोच्च अदालत र सबै अदालतहरुमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर र स्वतन्त्र न्यायपालिकाको रक्षा गरौं लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्