२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सर्लाहीकाे सिडिओ कार्यालयमा आगलागी


455
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी भएको छ ।

मंगलबार बिहान आगलागी भएपछि कार्यालयले प्रदान गर्ने सेवा पनि अवरुद्ध भएको हाे । विद्युत सर्ट भई कार्यालयको नागरिकता प्रतिलिपि फाँटमा आगलागी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । आगलागीबाट नागरिकता प्रतिलिपि फाँटमा रहेका दुई थान कम्प्युटर, दुई थान प्रिन्टर र दुई थान स्क्यानरलगायतका सामग्री जलेको कार्यालयले जनाएको छ ।

दमकलले पानी फाल्ने क्रममा राहदानी फाँटका थप दुई थान कम्प्युटरमा समेत क्षति पुगेको छ । प्रमुख यादवले आगलागीबाट उपकरणमा क्षति पुगे पनि कार्यालयभित्र रहेका कागजात र सेवाग्राहीको ‘डाटा’ सुरक्षित रहेको बताउनुभयो । आगलागीपछि कार्यालयको पूरै वायरिङ समेत जलेकाले सेवा अवरुद्ध गर्नु परेको उहाँकाे भनाइ छ ।

नागरिकता प्रतिलिपि फाँट बाहेक अन्य फाँटका उपकरण सुरक्षित रहेको कार्यालयले जनाएकाे छ । कार्यालयले २० मध्ये १६ वटा पालिकाका बासीन्दालाई सेवा दिंदै आएको छ ।