१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


फरार सांसद काेइरी निलम्बित


2.821k
Shares

काठमाडाैं । हत्या अभियोगमा फरार एमाले सांसद लक्ष्मी महतो कोइरी सांसद पदबाट निलम्बनमा परेका छन् । प्रहरीले फरार रहेको पत्र पठाएपछि सभामुख देवराज घिमिरले कोइरीलाई निलम्बन गर्नुभएको हो ।

प्रतिनिधिसभा नियावलीको नियम २४८ (३) बमोजिम कोइरीलाई निलम्बन गरिएको हो । प्रतिनिधि सभाको बैठक नचलेकाले सभामुखको निर्देशनअनुसार संघीय संसद् सचिवालयको सूचना पाटीमा निलम्बनसम्बन्धी सूचना टासिनेछ ।

प्रहरीले दुई दिनअघि कोइरी अदालतको आदेश बमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा फरार रहेको पत्र संसद सचिवालयमा पठाएको थियो ।

सात वर्षअघि महोत्तरीमा नेपाल प्रहरीका सई थमन विश्वकर्मा हत्या आरोपमा जनकपुर उच्च अदालतले कोइरीलाई पक्राउ गर्न आदेश दिएको थियो ।

प्रतिनिधिसभा नियमावलीमा पुर्पक्षका लागि थुनामा बस्नुपर्ने सांसद फरार रहे स्वतः निलम्बन हुने व्यवस्था छ । प्रहरीले उच्च अदालतको फैसला कार्यान्वयनमा सहयोग गर्न भन्दै कोइरी फरार रहेको जानकारी गत पुस ७ मा संसद् सचिवालयलाई दिएको थियो । प्रतिनिधिसभा नियमावली बनेपछि फरार रहेको जानकारी आधिकारिक निकायबाट नआएकाले कोइरीलाई निलम्बनमा नपरेको सभामुख घिमिरेले बताएपछि आइतबार फेरि प्रहरीले पत्र पठाएको थियो । तर, कोइरीले संसदलाई आफू बिरामी रहेको जानकारी इमेलमार्फत संसद् सचिवालयलाई दिँदै आएका थिए ।

त्यसैको आधारमा संसद सचिवालय तथा सभामुखले कोइरीको बिदा स्वीकृत गर्न संसद् अधिवेशनको अन्तिम दिनसम्म कोसिस गरेका थिए । जानकारी नदिई प्रतिनिधिसभा बैठकमा लगातार १० पटक अनुपस्थित भए सांसद पद खारेज हुने संवैधानिक व्यवस्था छ । उनी प्रतिनिधिसभाका २६ बैठकमा लगातार अनुपस्थित भइसकेका थिए ।