१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


‘ए’ डिभिजन लिग : जावलाखेल पुलिस क्लबसँग पराजित


624
Shares

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब नेपाल पुलिस क्लबसँग पराजित भएको छ । एन्फा कम्प्लेक्समा जावलाखेललाई नेपाल पुलिस क्लबले २–१ गोल अन्तरले हराएको हो ।

पुलिसको जितमा मोसेस ग्याबाह र अहमद हिजाजीले एक एक गोल गरे । जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए । खेलको ३५ औं मिनेटमा मोसेसले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ८८ औं मिनेटमा हिजाजीले गोल गर्दै पुलिसलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा जावलाखेलका विपिनले एक गोल गरेपनि पुलिस २–१ ले विजयी भयो । लिगमा पुलिसको यो चौंथो जित हो ।

जितसँगै पुलिसले १४ खेलमा १५ अंक जोडेको छ । पुलिस १० औं स्थानमा उक्लिएको छ । जावलाखेलको यो चौंथो हार हो । जावलाखेल १४ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा छ ।

यता, थ्री स्टार क्लब बराबरीमा एफसी खुमलटारसँग बराबरीमा रोकिएको छ । च्यासल मैदानमा थ्री स्टारले एफसी खुमलटारसँग २–२ गोलको बराबरी खेलेको हो । खेलको चौंथो मिनेटमा लाकेन लिम्बुको गोलबाट थ्री स्टारले सुरुआती अग्रता बनाएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा मेसुके ओलुमोउले गोल गर्दै खुमलटारलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ५० औं मिनेटमा समिर बिनोङले गोल गर्दै खुमलटारलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा आदित्य शाक्यले पेनाल्टीमार्फत गोल गर्दै थ्री स्टारलाई २–२ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै थ्री स्टारले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । थ्री स्टार १४ खेलमा २३ अंक जोडेर दोस्रो स्थानमा छ । खुमलटारले १४ खेलमा १४ अंक जोडेर तालिकाको पुछारमा छ ।