१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुकाे वनमा क्याङ्करको प्रभाव


780
Shares

सुशील गैरे

कपिलवस्तु । मानवीय गल्तीले वनमा हुने डढेलोका कारण क्याङ्कर राेगको प्रभाव देखिएको छ ।

डढेलो हुर्कंदै गरेका लाथ्रा काट्दा र खुला चरी चरणले क्याङ्कर राेग हुने गरेकाे हाे । वन क्षेत्रमा मानवीय असरका कारण क्याङ्कर राेग हुँदा आर्थिक ह्रास मात्र होइन र वन व्यवस्थापनमा समेत प्रभावित बनेको छ । जसका कारण गाभि कुहिएर धोद्रो हुने गर्दछ । सामान्यता ८० वर्षपछि सालको रुख बुढो हुँदै जाँदा गाभि धोद्रो हुन्छ । तर क्याङ्करका कारण उमेर नपुग्दै रुख धोद्रो भएर हुर्कंदै जान्छ ।

जसले गर्दा त्यसबाट उत्पादन हुने विरुवा समेत अस्वस्थ हुने वन संरक्षणकर्मी विजयराज सुवेदीले बताउनुभयो । वनमा लागेका डढेलोमा परेर वा सानो बोट हुँदा पशु चौपायाले खाएर वा विभिन्न कारण विरुवा अवस्थामा चोट लागेर रुखमा क्याङ्करको प्रभाव देखिने सब डिभिजन वन कार्यालय गोरुसिङ्गेका सहायक वन अधिकृत वसन्त थापाले बताउनुभयो।

क्याङ्करकै कारण काठ उत्पादनमा ह्रास आउने, काठको गुदी (पिथ) कुहिने, पुर्न उत्पादन भएका बोट विरुवाको जिनमा म्युटेसन आउने अधिकृत थापाले बताउनुभयो । कपिलवस्तुका वन क्षेत्रमा सालका वयस्क रुखहरुमा यस्तो समस्या देखिएको छ। वनमा आवश्यक मात्रामा असल माउ रुख नहुँदा यस्ता समस्याका रुखहरु पनि राख्नुपर्ने बाध्यताका कारण त्यस्ता क्षेत्रमा असल विरुवा उत्पादन हुनेमा शंका रहन्छ ।

क्याङ्कर बाहुल्य रहेको वन क्षेत्रमा सघन कटानको साथै कृत्रिम पुनरुत्पादनलाई परिष्कृत गर्न भूमि तयारी तथा बिउको सघन विचरणको सुनिश्चितता गर्नुपर्ने देखिएको वन व्यवस्थापनका उपप्राध्यापक सुमन भट्टराईले बताउनुभयो। क्याङ्कर वनमा समस्याको रुपमा देखिए पनि अध्ययन अनुसन्धान न्यून भएको वन संरक्षणकर्मीको दावी रहेको छ ।