
काठमाडौं । निजामति कर्मचारीहरुले सिंहदरबारमा सांकेतिक धर्ना दिएका छन् ।
बिहीबार संघीय निजामति कर्मचारी सेवा ऐनको माग गर्दै निजामति कर्मचारीहरुले सिंहदरबारको दक्षिण गेटमा सांकेतिक धर्ना दिएका हुन् ।
उनीहरुले संघीय निजामति ऐन जारी नगरे वैशाख २४ गतेबाट आन्दोलन झनै चर्काउने चेतावनी दिएका छन् । उनीहरुले २४ गतेसम्म पनि सरकारले आफूहरुका मागलाई चासो नदिए सिंहदरबारको काम ठप्प बनाउने र देशभर आन्दोलन गर्ने चेतावनी दिए ।
धर्ना कार्यक्रममा बोल्दै नेपाल निजामति कर्मचारी संगठनका उपाध्यक्ष प्रभात साहले संघीय निजामति ऐन तत्काल जारी गर्न माग गर्दा सरकारले बेवास्ता गरेकाले बाध्यतावश बिरोधमा उत्रिनुपरेको बताउनुभयो ।
उहाँले संघीय निजामति सेवा ऐन, प्रदेश निजामति सेवा ऐन, स्थानीय निजामति सेवा ऐन जारी गर्न सांकेतिक रुपमा आन्दोलन गरेको बताउनुभयो ।
यसअघि पनि निजामति कर्मचारीहरुले संघीय निजामति ऐन जारी गर्न माग गर्दै विभिन्न चरणमा सांकेतिक विरोध जनाउँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्