१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बजेटमा सार्वजनिक सवारी साधनलाई विद्युतीय बनाउन प्राथमिकता दिन्छु : मन्त्री ज्वाला


169
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारको आगामी नीति कार्यक्रम र बजेटमा सार्वजनिक सवारीसाधनलाई विद्युतीय बनाउन प्राथमिकता दिइने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आर्थिक पत्रकार संघ नाफिजद्वारा आयोजित ‘इलेक्ट्रिक मोबिलिटीः सजेसन्स फर पोलीसी एण्ड बजेट विषयक अन्तरक्रियामा यस्तो उल्लेख गर्नुभएको हो । उहाँले चालु आर्थिक वर्षका तुलनामा आगामी बर्ष भौतिक पूर्वाधार मन्त्रालयको बजेट उल्लेख्य दरले घट्ने भएकाले ठूला एवं महत्वाकांक्षी कार्यक्रम ल्याउन मुश्किल पर्ने बताउनुभयो ।

उहाँले उर्जाको उपयोगका हिसाबले पनि सार्वजनिक सवारीसाधनलाई विद्युतीयतर्फ लग्न आवश्यक रहेको बताउनुभयो । मन्त्री ज्वालाले विद्युतीय सवारीसाधनतर्फ व्यक्तिगत रुपमा आकर्षण बढेपनि सार्वजनिकतर्फ मानिसको ध्यान निकै कम पुगेको भन्दै सार्वजनिक सवारीसाधनतर्फ आकर्षण बढाउन नसकेसम्म इन्धनमा व्यहोर्नुपरेको व्यापार घाटा कम नहुने बताउनुभयो । मन्त्री ज्वालाले आफ्नै सवारी सवारी अनुमतिपत्र एक बर्षदेखि ‘पेन्डिङ’मा रहेको भन्दै यातायात क्षेत्रमा विद्यमान विसंगतिको अन्त्यका लागि आफु लागिपर्ने उल्लेख गर्नुभयो ।

अटो मोबाइल्स एशोसिएशन अफ नेपाल नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले उचित सहुलित तथा अनुदान नीति नल्याएसम्म विद्युतीय सार्वजनिक सवारी विस्तार हुन नसक्ने दाबी गर्नुभयो । आन्तरिक राजश्व विभागका निर्देशक राजु प्याकुरेलले विद्युतीय सवारीमा बजेटले तोके बमोजिमको कर लिइरहेको बताउनुभयो । उहाँले विद्युतीय सवारीमा लाग्दै आइरहेको करको दर घटाउनु देशको अर्थतन्त्र र वातावरणलाई समेत फाइदा हुनेमा विभाग जानकार रहेको बताउनुभयो ।