
काठमाडौं । आज (शुक्रबार) २५६७ औँ बुद्धजयन्ती । हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन भगवान गौतम वुद्धको जन्म जयन्ती मनाउने गरिन्छ । नेपालसहित विश्वभर आज बुद्ध जयन्ती भब्यताका साथ मनाइँदैछ ।
आज भन्दा २५ सय ६७ वर्ष अघि कपिलवस्तुको तिलौराकोटमा राजा शुद्धोधन र आमा मायावतीको कोखबाट जन्मिनु भएका राजकुमार सिद्धार्थले कठोर तपस्यापपछि बुद्धत्व प्राप्त गर्नुभएको थियो ।
वैशाख पूर्णिमा गौतम बुद्धको जीवनका त्रि–संयोग पनि हो । सिद्धार्थ गौतमको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई वुद्धका त्रि संयोगको रुपमा मनाइन्छ ।
यस अवसरमा गुम्बा, चैत्य, विहार, मठलगायतका पवित्र स्थानमा पूजा पाठ गर्ने गरिन्छ । बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रम आयोजना गरिँदै छ । बिहीबार साँझ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मायादेवी मन्दिरमा शान्तिदीपमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।
त्यस क्रममा नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख, राजदूतलगायतलाई दीप प्रज्वलनसहित महापरित्राण गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान कार्यक्रमको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बुद्ध जयन्ती मनाउन लुम्बिनी रङरोगन र सरसफाइ गरी सिंगारिएको छ । मन्दिर परिसर, अशोक स्तम्भलगायतका क्षेत्र सफा गरेर सुन्दर बनाइएको छ भने मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती जडान गरिएको छ ।
लुम्बिनीमा शुक्रबार बिहानैदेखि पाठ तथा पूजा सुरू भएको छ ।
चण्डी पूर्णिमा पनि भनिने आजको दिन किराँत समुदायले उभौली पर्व मनाउने गर्दछन् भने क्षेत्री ब्रह्माण समुदायले देवाली पूर्णिमा मनाउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्