
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताउनुभएकाे छ ।
उहाँले शुक्रबार २५६७औं बुद्ध जयन्तीका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै यस्ताे बताउनुभएकाे हाे । लुम्बिनी बुद्ध दर्शनको उद्गमस्थल पनि रहेको तथ्यमा विश्वको ध्यान जानु जरुरी रहेकाे उहाँकाे तर्क छ ।
उहाँले भन्नुभएकाे छ,-‘हामीले बुद्ध जयन्तीलाई लुम्बिनी दिवसका रूपमा पनि मनाउँदै आएका छौँ । यस अवसरमा म विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’
लुम्बिनीमा संयुक्त राष्ट्र संघको संलग्नतामा तर्जुमा गरिएको लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयन भइरहेको उहाँले बताउनुभएकाे छ । लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई साकार रूप दिन नेकपा एमालेको सरकारले प्रयास गरेको पनि जारी शुभकामना सन्देशमा उल्लेख गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्