९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


कार्यक्रमको बीचैमा ए आर रहमानको प्रस्तुतिमा रोक


12.896k
Shares

एजेन्सी । भारतीय ओस्कार विजेता संगीतकार तथा गायक एआर रहमानलाई लाइभ कन्सर्टमा प्रस्तुति दिने क्रममा नियम उल्लंघन गरेको भन्दै एक कार्यक्रममा रोक लगाइएको छ ।

यो घटनापछि प्रहरी अधिकारी सन्तोष पाटिल निकै चर्चामा छन् । सन्तोषले रहमानलाई स्टेजमा गएर गीत गाउनबाट रोकेका थिए ।

३० अप्रिलमा पुनेमा भएको एक कार्यक्रममा रहमान गीत गाउँन लागेका थिए । सोहि क्रममा उनलाई सन्तोषले गीत गाउन रोकिदिए । अहिले यही भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सन्तोषले भारतीय सञ्चार माध्यमहरुसँगको एक अन्तर्वार्तामा आफूले कानुनलाई ध्यानमा राखेर यस्तो कदम चालेको बताए । सन्तोषले आफूसँग कुनै विकल्प नरहेको बेला स्टेजमा गएर कन्सर्ट रोक्नुपरेको बताए ।

उनले भने, ‘एक प्रहरी अधिकारीको हैसियतले मैले मिडियालाई अन्तर्वार्ता दिनु हुँदैन । यस विषयमा म धेरै बोल्दिन । सर्वोच्च अदालतले राति १० बजेपछि ठूलो स्वरमा गीत बजाउन नहुने स्पष्ट आदेश दिएको छ । यसबारे आयोजकसँग कुरा गरे तर आयोजकले ध्यान दिएनन् । त्यसपछि म स्टेजमा गएर रहमान र त्यहाँ उपस्थित अन्य संगीतकारहरूलाई गीत गाउनबाट रोक्नुपर्‍यो।’

रहमानले आफैंले आफ्नो सामाजिक सञ्जालमा त्यही भिडियो सार्वजनिक गरेका छन् जसमा सन्तोष कार्यक्रम रोक्न स्टेजमा चढेका छन् । रहमानले उक्त भिडियोमा समय सकिएको भन्दै अब शो बन्द गर्नुपर्ने बताएका छन् । उनले प्रहरीले गरेको काम गलत नभएको पनि बताएका छन् ।

एआर रहमानको भिडियोमा फ्यानहरुले धेरै कमेन्ट गरिरहेका छन् । कतिपयले ड्युटीमा खटिएका प्रहरीको सक्रियताको प्रशंसा समेत गरेका छन् ।