
काठमाडौं । वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती अर्थात बुद्ध पूर्णिमा आज (शुक्रबार) देशभर मनाइँदैछ । शान्तिका अग्रदुतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७ औं जयन्ती मनाइँदैछ ।
काठमाडौंको बौद्ध स्तुपामा शुक्रबार विशेष मेला लागेको छ । बौद्धमा पूजा र दर्शन गर्ने भक्तजनहरुको भीड रहेको छ । साथै काठमाडौं उपत्यकाको स्वयम्भूनाथसहित देशभरका बौद्धस्तुपाहरुमा विशेष मेला लागेको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष मेला लागेको छ ।
भगवान विष्णुको नवौं अवतारका रूपमा बुद्धलाई पुजिन्छ ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।
राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किनुभएको थियो ।
वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँको महापरिनिर्वाण भएको थियो । त्यसै वर्षदेखि बुद्ध जयन्ती मनाउन थालिएको हो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले शुक्रबार नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन दिनुभएको थियो । जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय रहेका थिए ।
बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिनुभएको छ । बुद्ध दर्शनअनुसार मध्यम मार्ग भनेकै आर्यअष्टाङ्गिक मार्ग हो र यो मार्ग नै दुःख मुक्तिको उपयुक्त मार्ग हो ।
यसमा सम्मिलित आठ मार्गको इमान्दारीपूर्ण अभ्यासबाट नै दुःखलाई अन्त्य गरी निर्वाण प्राप्त गर्न सकिने बौद्ध ग्रन्थमा उल्लेख छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।











प्रतिक्रिया दिनुहोस्